प्रधानमन्त्री कोइराला र श्रीलङ्काली राष्ट्रपति भेट

काठमाडौं, २० फागुन । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को तेस्रो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा म्यानमारमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले श्रीलंकाका राष्ट्रपति महेन्दा राजपक्ष मंगलबार भेटवार्ता गरेका छन् ।
म्यान्मार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको भेटवार्तामा नेपाल–श्रीलंका सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको बताइएको छ । भेटका अवसरमा समसामयिक क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मामलामा पनि राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको थियो ।
विमस्टेकको अध्यक्ष राष्ट्र नेपाल
बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी बंगालको खाडीको प्रयास ‘बिमस्टेक’को अध्यक्ष राष्ट्र नेपाल बनेको छ । म्यानमारमा सम्पन्न ‘बिमस्टेक’को तेस्रो शिखर सम्मेलनले नेपाललाई अध्यक्षता प्रदान गरेको हो । यसअघि अध्यक्ष रहेका म्यानमारका राष्ट्रपति उ थिनसिनले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई संगठनको झन्डा हस्तान्तरण गरी पदभार सुम्पिएका हुन् ।
सम्मेलनले श्रीलंकाली नागरिक सुमथ नाकनदालालाई महासचिवमा चयन गरेको छ । साथै ढाकामा संगठनको स्थायी सचिवालाय स्थापना गर्ने प्रस्ताव पनि पारित भएको छ । बिमस्टेक सांस्कृतिक उद्योग आयोग र मौसम तथा बिमस्टेक जलवायु केन्द्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया