कब्जा अभियानमा बाबुराम

baburam copy
काठमाडौं १८ फागुन । एकीकृत नेकपा माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पार्टी नेतृत्त्वमा कब्जा जमाउने रणनीतिमा जुटेका छन् । पार्टीका पूर्वउपाध्यक्षसमेत रहेका डा. भट्टराईले यसका लागि गोप्य भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
नेता डा. भट्टराईले पछिल्लो समय कुटनीतिक भेटघाट गर्ने र पत्रकारहरूसँग सम्पर्क गर्ने क्रम बढाएका छन् । आइतबार मात्रै एमाओवादी बिट हेर्ने विभिन्न सञ्चारमाध्यममा कार्यरत केही पत्रकारहरूलाई सानेपास्थित आफ्नै निवासमा बोलाएर नेता भट्टराईले छलफलसमेत गरे । उनले समाचारका लागि नभई आफूलाई सुझाव दिनका लागि बोलाएको भन्दै पत्रकारहरूसँग कुराकानी सुरु गरेका थिए ।
छलफलका क्रममा पनि उनी खासै नखुलेको र पत्रकारका कुरा बढी सुनेको एक सहभागीले बताए । ‘डा. भट्टराई खासै खुल्नु भएन, धेरै विषयमा रिजर्भ बस्नुभयो,’ छलफलमा सहभागी एक पत्रकारले भने, ‘मलाई त गुटगत छलफल चलाएजस्तै लाग्यो ।’
केही साता पहिलेको एमाओवादी केन्द्रीय समिति बैठकमा पार्टी लोकतान्त्रिक पद्धतिमा नगएको भन्दै नेतृत्त्व परिवर्तन गर्नुपर्ने माग राख्दै अध्यक्ष दाहालसँग आक्रामक देखिएका डा. भट्टराई एक वर्षपछि सम्भव भए नेतृत्त्व आफैँले लिने त्यसो नभए अध्यक्ष दाहाललाई हटाएर पार्टी कब्जा गर्ने रणनीतिमा जुटेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार डा. भट्टराईले अहिले सुरु गरेको छलफल र भेटघाट त्यसैको सुरुवात हो । नेता डा. भट्टराईले आफूले जनताको धेरै काम गर्न चाहेको तर अवसर नपाएको भनेर जनमानसमा सन्देश दिने अभियान पनि सुरु गरेको बताइएको छ ।
केही समयअघि सर्वसाधरण माझ लोकप्रिय बन्ने उद्देश्यका साथ सामाजिक सञ्जाल फेसबुकमार्फत राजधानीमा निर्माणाधीन सडकको तस्बिर सार्वजनिक गर्दै उनले आफूले चाहेको नयाँ नेपाल भनेर सन्देश दिन खोजेका थिए । तर, उनले त्यो सन्देशको बदला कडा आलोचना खेप्नु परेको थियो ।
एक वर्षसम्म कुनै पनि सरकारी तथा अन्य पदमा नबस्ने घोषणा गरेका डा. भट्टराईले त्यसपछि के गर्ने भन्नेबारे भने अहिलेसम्म केही पनि बताएका छैनन् । पार्टी नेतृत्त्व कब्जा गर्न असफल भए त्यसपछि राष्ट्रपति बन्नका लागि उनले प्रयास गर्ने पनि उनीनिकट स्रोतको दाबी छ । वर्षदिनसम्म कुनै पदमा नबस्ने भन्ने अनि त्यसपछि पार्टीमा बर्चस्व जमाउने रणनीतिमा डा. भट्टराई लागेको चर्चा बेलाबखत पार्टीभित्र पनि चल्ने गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालनिकट नेता वर्षमान पुनले यसअघि नै नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतसँग मिलेर डा. भट्टराईले एक वर्षपछि सुशील कोइरालालाई प्रधानमन्त्रीबाट हटाएर ओलीलाई प्रधानमन्त्री र आफू राष्ट्रपति बन्ने योजना बनाएको आरोप लगाइसकेका छन् । पुनले सो प्रसंग एमाओवादी अध्यक्ष दाहाललाई समेत रिपोर्टिङ गरेका थिए ।
लाजिम्पाटको होटेल एम्बासेडर नजिकैको भवदेव रेस्टुरेन्टमा कुटनीतिक व्यक्तित्त्वबाट आएको सूचनाको हवाला दिँदै नेता पुनले वाम एकताको प्रस्ताव पनि त्यसपछि आएकोसमेत उल्लेख गरेको एमाओवादी स्रोत बताउँछ । एक वर्षपछि आफू शक्तिमा रहन चाहेको जानकारी सुत्रहरूबाट प्राप्त भएलगत्तै संस्थापन पक्ष पनि सतर्क भएको बताइएको छ । नेता डा. भट्टराईले विगतमा पनि एमाओवादी अध्यक्ष दाहालविरुद्ध रणनीति नबनाएका होइनन् तर पटक–पटक उनी असफल सावित भएका छन् । पार्टी भूमिगत अवस्थामा रहँदासमेत उनीमाथि नेतृत्त्वविरुद्ध षड्यन्त्र गरेका आरोप लगाउँदै कारवाहीसमेत भएको थियो ।

प्रतिक्रिया