प्रहरी महानिरीक्षक अर्याल भारततर्फ

काठमाडौं, १८ फागुन । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल पाँचदिने भ्रमणका क्रममा आइतवार भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा महानिरीक्षक अर्याल आइतवार दिउँसो दिल्ली गएका हुन्् । महानिरीक्षक भएपछिको अर्यालको यो पहिलो विदेश भ्रमण हो । यस्तो औपचारिक निमन्त्रणामा भारत प्रस्थान गर्ने अर्याल पूर्वमहानिरिक्षक मोतिलाल बोहरापछिको पहिलो हुन् ।
अर्याल नेतृत्त्वमा भारत प्रस्थान गर्ने टोलीमा अपराध अनुसन्धान विभागका निमित्त प्रमुख सुरेन्द्रबहादुर शाह, तालिम निर्देशनालयका अतिरिक्त प्रहरी महानिरीक्षक गणेश राई, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक देवेन्द्र सुवेदीलगायत छन् । भ्रमणका क्रममा द्विपक्षीय हितका विषयमा छलफल हुनुको साथै भारतले नेपाल प्रहरीलाई दिने भनिएको आर्थिक र प्राविधिक सहयोगका विषयमा समेत छलफल हुने बताइएको छ । स्रोतका अनुसार नक्कली भारतीय रुपियाँको कारोवार, सीमा क्षेत्रमा हुने अपराध र लागुऔषध नियन्त्रणबारे पनि दुई देशका अधिकारीहरूबीच छलफल हुने बताइएको छ ।
महानिरीक्षक अर्यालले भारतीय गृहमन्त्री सुशीलकुमार सिन्धे, गृहसचिव, उच्च सरकारी अधिकारी, दिल्ली महानगरीय प्रहरी प्रमुख, सिबिआई प्रमुख, पटना र लखनउ प्रहरी प्रमुख तथा सीमा सुरक्षा बलका प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रहरी महानिरीक्षक अर्याल भारत भ्रमणमा गएपछि वरिष्ठताको आधारमा प्रशासन विभागका निमित्त प्रमुख डिआइजी राजेन्द्रसिंह भण्डारीले कामु महानिरीक्षकको कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया