पाकिस्तानमा पोलियो थोपा ख्वाउने टोलीमाथि आक्रमण

कराची, १७ फागुन । पाकिस्तानमा पोलियो थोपा ख्वाउन गएका टोलीमाथि भएको आतंकवादी आक्रामणमा कम्तिमा १० जनाको मृत्यु भएको छ । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको पख्तुनख्वा प्रान्तको एउटा विकट क्षेत्रमा सो घटना भएको अधिकारीहरूले जनाएका छन् । पोलियो थोपा अभियानमा खटिएका टोली सो गाउँ भएर जाने क्रममा उनीहरू माथी बम आक्रमण भएको बताइएको छ । पाकिस्तानमा यस्ता अभियानमा खटिएको टोलीमाथि भएको यो पहिलो आक्रमण भने होइन् । यसअघि पनि यस्ता दर्जनौं घटना भइसकेका छन् ।
सो आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । तर, पाकिस्तानी सुरक्षा अधिकारीहरूले भने सो घटना विद्रोही समूह पाकिस्तानी तालेवानले घटाएको आशंका गरेको छ । पाकिस्तानी तालेवानले पोलियो खोप अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा हुने जासुसीको संज्ञा दिदैं त्यसको विरोध गर्दै आएको छ । सन् २०१२ को डिसेम्वरदेखि आजसम्म पाकिस्तानमा पोलियो थोपा अभियानमा भएको आक्रमणमा मर्नेको संख्या ४० नाघिसकेको छ ।
गत महिना मात्रै पनि पाकिस्तानको कराँचीमा तीन पोलियो कार्यकर्तालाई अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका थिए । पोलियो रोग सबैभन्दा बढी देखिने विश्वका तीन मुलुकमध्ये पाकिस्तान पनि पर्छ । अन्य दुई देश नाइजेरिया र अफगानिस्तान हो । विश्व स्वास्थ्य संगठनका अनुसार गत वर्ष पाकिस्तानमा ९१ जना पोलियोको रोगी फेला परेका थिए । तर, २०१२ मा पाकिस्तानमा सो संख्या ५८ मात्रै थियो । पाकिस्तानी तालेवानले अन्तर्राष्ट्रिय समुदायको सहयोगमा हुने कुनै पनि कार्यक्रमको विरोध गर्दै आएको छ ।

प्रतिक्रिया