काठमाडौं, १६ फागुन । मन्त्रिमण्डल चयन, अस्पतालमा बैठक बोलाएको जस्ता विषयमा आपत्ति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपाल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आक्रोशित भए । शुक्रबारको बैठकमा नेता नेपालले मन्त्री चयनका लागि अस्पतालमा बैठक राखेको, गैरसभासद्लाई मन्त्री बनाएको र मन्त्रिपरिषद्लाई समावेशी बनाउन नसकेको भन्दै आपत्तिसमेत जनाए । नेता नेपालले मन्त्री चयनका लागि ग्रान्डी अस्पतालमा स्थायी समितिको बैठक बोलाएको भन्दै त्यसको चर्को विरोध गरेका थिए ।
उनले पछिल्लो समय नेतृत्त्वले आफूलाई पाखा लगाउन खोजको आरोपसमेत लगाएका थिए । ‘बैठक अस्पतालमा राखेर नियम र पद्दति मिच्ने काम भएको छ,’ उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘कोही नेता बिरामी भएर अस्पताल भर्ना हुँदा बैठक र पार्टी केन्द्र पनि त्यतै लैजाने हो भने पार्टीको नीति, नियम र पार्टी मुख्यालयको के काम ?’
नेपालले उपाध्यक्ष एवं नवनियुक्त उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफूमाथि लगाएको आरोपको समेत प्रतिकार गरेका थिए । बिहीबार मात्र आयोजित एक कार्यक्रममा गौतमले नेपालले पार्टी नीतिविरुद्ध बोलेकाले उनलाई कारवाही हुनुपर्ने बताएका थिए ।
सचिव विष्णु पौड्यालले भने बैठक सामान्य रूपमा चलेको दाबी गरे । ‘बैठकले सामूहिकरूपमा मन्त्रिपरिषद्मा सहभागी मन्त्रीहरूलाई बधाई दियो,’ उनले भने, ‘मन्त्री चयनका बारेमा त्यस्तो असन्तुष्टि कसैको रहेको पाइएन ।’ वरिष्ठ नेता नेपालले त मन्त्री चयनलगायत विषयमा बैठकमा गम्भीर असन्तुष्टि व्यक्त गर्नु भएछ नि ? भनेर सोधेको प्रश्नमा पौड्यालले भने, ‘नेपाल सम्माननीय नेता भएको भन्दै उहाँले व्यक्त गरेका र भनेका भनाइको बारेमा आफूले खण्डन नगर्ने’ जवाफ दिए । ‘उहाँ सम्माननीय नेता हुनुहुन्छ,’ पौड्यालले भने, ‘उहाँ बैठकमा कसरी प्रस्तुत हुनुभयो, के भन्नुभयो भनेर म उहाँको आलोचना गर्दिनँ ।’
यसैगरी बैठकमा केन्द्रीय सदस्य उर्वादत्त पन्त र रामपृत पासवानले मन्त्री चयन समावेशी नभएको भन्दै नेतृत्त्वको आलोचना गरेका थिए ।
नेता पन्तले सुदुरपश्चिमलाई हेला गरेको भन्दै आलोचना गरेका थिए भने पासवानले मधेसको समावेशी प्रतिनिधित्त्व नभएको गुनासो गरेका थिए ।
महाधिवेशनबारे मतभेद
नेकपा एमाले केन्द्रीय कार्यालय बल्खुमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूबीच महाधिवेशन कहिले र कहाँ गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । बैठकमा बोल्ने ६ सदस्यहरूले पार्टीको महाधिवेशनका बारेमा फरक–फरक धारणा राखेपछि महाधिवेशनबारे अन्योल बढेको हो ।
‘बैठक पार्टीको आसन्न महाधिवेशनको एजेन्डामा प्रवेश गरे पनि महाधिवेशन कहिले र कहाँ भन्ने विषयमा अन्योल बढेको छ,’ एक केन्द्रीय सदस्यले भने । बैठकमा घनश्याम भुसाल, बेदुराम भुसाल, राजेन्द्र गौतम, गणेश तिमल्सेना, परशुराम मेघी गुरुङ र अरुण नेपाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।
सदस्य भुसालले पार्टी सदस्यता नवीकरणदेखि पार्टीको सैद्धान्तिक पक्षमा बहस चलाउन समय अपुग हुने भन्दै महाधिवेशन सार्नु पर्ने धारणा राखेका थिए ।
तल्लोतहसम्म बहस गरी पार्टी संगठन र सिद्धान्त मजबुत पार्न समय नपुग्ने उनको भनाई थियो । बैठकमा मेघी गुरुङ, भुसाल, र नेपालले पनि पार्टीको केन्द्रीय सदस्यहरू पार्टी महाधिवेशनको प्रतिनिधि स्वत: हुन पाउनुपर्ने धारणा राखेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । गौतम र तिमिल्सिनाले भने पार्टी विधान र पद्धतिअनुसार महाधिवेशन प्रतिनिधिहरूको चयन हुनुपर्ने र तोकिएको समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने जिकिर गरे ।
करिब दुई महिनाअघि बसेको स्थायी समिति बैठकले पार्टीको नवौँ महाधिवेशन आगामी ९ बैशाखबाट गर्ने प्रस्ताव पारित गरेको थियो । तर, महाधिवेशनको तयारीबारे केन्द्रीय समितिले ठोस निर्णय गर्न नसक्दा पार्टी सचिवालयले महाधिवेशन एक महिना पर सार्ने प्रस्ताव स्थायी समितिमा पेस गरेको थियो ।
सचिवालयले पार्टी महाधिवेशन पूर्वमहासचिव मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर ३ जेठबाट ८ गतेसम्म गर्न प्रस्ताव पेस गरेको थियो । ०६५ सालमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय नेतृत्त्वको पदावधि यहि १३ फागुनबाट सकिएको छ । निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने विधानमा व्यस्था भए पनि पार्टीको विवादले महाधिवेशनबारे अन्योलता बढ्दो छ ।
प्रतिक्रिया