तालाबन्दी र विरोधका बाबजुद त्रिविको तयारी

काठमाडौं, १६ फागुन । सेमेस्टार प्रणाली सुरु गर्ने विषयमा केही विद्यार्थीको विरोधका बावजुद त्रिभुवन विश्वविद्यालय अघि बढ्ने तयारीमा देखिएको छ । विभिन्न १२ विद्यार्थी संगठनले सेमेस्टर प्रणालीको विरोधमा तालाबन्दी गरिरहे पनि त्रिविले प्रहरी प्रशासन लगाएर फर्म वितरण गरेको छ । तालाबन्दी र विरोध भइरहँदै गर्दा पनि भित्रभित्रै फर्म वितरण गरेर अघि बढ्नुले त्रिवि जसरी पनि सेमेस्टार प्रणाली सुरु गरेरै छाड्ने पक्षमा रहेको बुझिएको छ । कीर्तिपुरबाहिर रहेको केन्द्रीय विभागको प्रवेश परीक्षा पनि कीर्तिपुरमा नै गर्ने तयारी पनि त्रिविले गरेको छ ।
मोहन वैद्य नेतृत्त्वको माओवादी विद्यार्थी संगठनलगायत १२ विद्यार्थी संगठनले सेमेस्टर प्रणालीको विरोध गर्दै आएका छन् । यसअघि विरोधमा उत्रेका नेपाली कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु तथा एमाओवादी निकट अखिल क्रान्तिकारी भने त्रिविसँग भएको चरणबद्ध छलफल र सहमतिपछि सेमेस्टर प्रणालीको समर्थनमा छन् ।
यसअघि त्रिविले सञ्चारमाध्यममा सूचना प्रकाशित गरी १७ फागुनमा विभागमा प्रवेश परीक्षा हुने जनाएको थियो । तर, अन्तिम चरणमा भने त्रिविले सबै प्रवेश परीक्षा कीर्तिपुरमा नै गर्ने तयारी गरेको बुझिएको छ ।
त्रिविले प्रकाशित गरेको सूचनामा कीर्तिपुरबाहेक अन्य स्थानमा रहेका केन्द्रीय विभागहरूबाट भर्नाका लागि आवेदन फाराम भरेका विद्यार्थीहरूको प्रवेश परीक्षा तोकिएकै समयमा सम्बन्धित केन्द्रीय विभागमा नै हुने भनिए पनि पछिल्लोपटक समय र स्थान नै परिवर्तन भएको हो ।
पत्रकारिता केन्द्रीय विभाग रत्नराज्य लक्ष्मी क्याम्पस भृकुुटीमण्डपमा रहे पनि त्यसको परीक्षासमेत शनिबार दिउँसो २ बजे कीर्तिपुरमा नै गरिने भएको हो ।
त्रिविद्वारा प्रकाशित सूचनामा मानविकी तथा सामाजिक शास्त्र संकायको प्रवेश परीक्षा बिहान ८ बजेदेखि ९ बजेसम्म हुनुपर्ने हो । तर, प्रवेश परीक्षा लिन आउने विद्यार्थीहरूलाई २ बजे कीर्तिपुरमा प्रवेश परीक्षा हुने जानकारी दिइएको थियो । ‘शनिबार दिउँसो २ बजे कीर्तिपुरमा प्रवेश परीक्षा हुन्छ नबिसर्नुहोला’ पत्रकारिता केन्द्रीय विभाग आरआर क्याम्पस प्रशासनको भनाइ उदृत गर्दै एक विद्यार्थीले सौर्यसँग भने ।
कीर्तिपुरबाहेक अन्यत्र परीक्षा गर्दा विद्यार्थी संगठनहरूले बिथोल्न सक्ने भयले सबै परीक्षा कीर्तिपुरमा नै गर्न लागेको त्रिवि स्रोत बताउँछ । भौतिक पूर्वाधार, पाठ्यक्रमलगायत विषयमा विनातयारी सेमेस्टार लागू गर्न लागेको तथा शुल्कसमेत महँगो बनाएको भन्दै १२ विद्यार्थी संगठनले यसअघि नै त्रिवि कीर्तिपुर तथा केन्द्रीय विभागहरूमा ताला लगाएका छन् । कीर्तिपुरमा फारम वितरणका क्रममा बाक्लो सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो । शनिवार हुने प्रवेश परीक्षाका लागि सुरक्षाको विशेष ब्यवस्था मिलाएको त्रिवि स्रोत बताउँछ ।
तर, वैद्य माओवादी निकट अखिल क्रान्तिकारीलगायत १२ विद्यार्थी संगठनले भने विरोध जनाइरहेका छन् । सेमेस्टार प्रणालीमा अन्तर्राष्ट्रिय परिवेश अनुकूल पठनपाठन हुने भएकाले लागू गर्नुको विकल्प नभएको त्रिविको तर्क छ । तर, क्रान्तिकारीका अध्यक्ष सरद रसाइलीले भने त्रिविले दाताको दबाबमा यसलाई अपनाएको र पढाइको गुणस्तरका लागिभन्दा पनि विश्व बैंकको दबाबमा विश्वविद्यालय क्याम्पसमा मात्र लागू गर्न लागिएको बताए । पहिलेको नै शिक्षा नीति, त्यही भौतिक संरचना, तिनै शिक्षक हुँदा सेमेस्टारको अर्थ के त भनेर उनले प्रश्नसमेत गरे । केन्द्रमा सेमेस्टर र अन्यत्र वार्षिक प्रणाली हुने विभेदप्रति पनि हाम्रो असहमति हो अध्यक्ष रसाइलीले भने, ‘सेमेस्टरको भने हामी विरोधी होइनौँ ।’

प्रतिक्रिया