एमाओवादीले बोलायो जिल्ला संयोजकको भेला

perisdandaकाठमाडौं, १५ फागुन । संविधानसभाको तेस्रो दल एकीकृत माओवादीले जिल्ला संयोजकहरूको राष्ट्रिय भेला बोलाएको छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पूर्वपदाधिकारीको बैठकले २१ फागुनमा जिल्ला संयोजकको राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । एमाओवादीले राष्ट्रिय सम्मेलनको कार्यविधी तयार पार्न भेला बोलाएको जनाएको छ ।
एमाओवादी नेता पोष्टबहादुर बोगटीले पार्टीको कार्यविधी तयार पार्न जिल्ला संयोजकहरूको भेला बोलाइएको बताए । करिब महिना दिन अघि बसेको एमाओवादीको केन्द्रीय समितिको बैठकले पार्टी केन्द्रीय सदस्यहरूलाई नै जिल्ला संयोजक तोकेको थियो ।
बैठकले एक वर्षभित्रमा नै संविधानसभामार्फत नयाँ संविधान जारी गर्न विशेष भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । संविधानसभाको निर्वाचनमा पार्टीले अप्रत्यासित हार बेहोरेसँगै आफ्ना एजेण्डाले कम प्राथमिकता पाए पनि एक वर्षभित्र संविधान जारी गर्न पार्टीले विशेष पहल गर्ने निर्णय भएको माओवादीले जनाएको छ । सुरुमा संविधानसभाको निर्वाचनलगत्तै परिणाम अस्विकार गरेको एमाओवादीले पछिल्लो समयमा संविधान निर्माण प्रक्रियामा सहयोगी भूमिका खेल्ने बताउँदै आएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पूर्वपदाधिकारीको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न हरसम्भव प्रयास गर्ने र त्यसका लागि विभिन्न वर्ग, जाति, क्षेत्रका समुदायलाई साथमा लिएर अगाडि बढ्ने निर्णयसमेत गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाओवादी नेता बोगटीले संविधान निर्माण, आगामी बैशाखमा आयोजना गरिएको विशेष सांगठनिक राष्ट्रिय सम्मेलनलगायत विषयमा छलफल भएको जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केही दिन अघि सम्पन्न कतार भ्रमणबारे पनि जानकारी गराएको बताइएको छ ।

प्रतिक्रिया