१९ मन्त्रीबाट सपथग्रहण

mantri

काठमाडौं,  १३ फागुन । राष्ट्रपति कार्यालय सितल निवासमा नेपाली कांग्रेस र नेकपा एमालेका मन्त्रीहरूलाई  प्रधानमन्त्री सुशील कोइरालाले सपथग्रहण गराए ।
प्रधानमन्त्रीमा निर्वाचित भएको दुई साता पछि मात्रै कोइरालाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्रिपरिषद्मा कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित ११ र एमालेबाट १० सदस्य रहेका छन् । विनाविभागीय मन्त्रीका रूपमा यसअघि नै सपथग्रहण गरिसकेका डा. रामशरण महतबाहेकका नवनियुक्त १८ मन्त्रीले मंगलबार सपथग्रहण गरेका हुन् । अब कोइराला नेतृत्त्वको मन्त्रिपरिषद् २१ सदस्यीय भएको छ ।
सपथग्रहण कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवसहित सभामुख, राजनीतिक दलका नेता, पूर्वप्रधानमन्त्रीलगायतका उपस्थिति थियो । सपथग्रहणलगत्तै मंगलबारै मन्त्रीहरूले पदभार ग्रहण पनि गरेका छन् । कांग्रेसबाटै श्रम तथा वैदेशिक रोजगार राज्यमन्त्री बनेका टेकबहादुर गुरुङले भने राष्ट्रिय योजना आयोगको हल सिंहदरबारमा सपथ लिए । मन्त्रिमण्डल विस्तारसँगै मंगलबार नै विस्तारित मन्त्रिपरिषद्को बैठक बस्यो । राप्रपा र नेकपा मालेसहितका साना दलले मन्त्रीको टुंगो नलगाएकाले ती दलबाट मन्त्री बन्नेले भने अर्को चरणमा सपथ खाने बताइएको छ । दुवै दलको भागमा एक–एक मन्त्रालय परेको छ ।
यसअघि पूर्वसहमतिबमोजिम गृहमन्त्रालय नपाएको भन्दै एमालेले सरकारमा नजाने अडान लिएपछि प्रधानमन्त्री कोइरालाले मन्त्रिमण्डल विस्तार गर्न सकेका थिएनन् । दस–दस मन्त्रालय लिने सहमति भएपछि सोमबार नै दुवै दलले मन्त्री चयनका लागि छलफल गरेर मंगलबार अन्तिम रूप दिएका थिए ।
एमालेका ६ मन्त्री गैरसभासद
एमालेको तर्फबाट मन्त्रिमण्डलमा सहभागी १० मध्ये ६ जना गैरसभासद् छन् । एमालेका तर्फबाट मन्त्री बनेका राधा ज्ञवाली, खगराज अधिकारी, महेन्द्र पाण्डे, लालबाबु पण्डित, हरि पराजुली र  दलबहादुर राना सभासद् होइनन् । पार्टीले निर्वाचित सभासद्हरूलाई पन्छाएर गैरसभासदलाई मन्त्री बनाएको भन्दै एमालेका केही नेता तथा कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।
मंगलबार सपथग्रहण गर्ने मन्त्रीहरूको नामावली
वामदेव गौतम           उपप्रधान तथा गृह
प्रकाशमान सिंह         उपप्रधान तथा स्थानीय विकास
महेश आचार्य             वन
डा. मिनेन्द्र रिजाल    सूचना तथा सञ्चार
डा. नारायण खड्का    सहरी विकास
नरहरी आचार्य           कानुन
चित्रलेखा यादव         शिक्षा
एनपी साउद             सिँचाई
विमलेन्द्र निधी       भौतिक योजना तथा निर्माण
महेन्द्र पाण्डे           परराष्ट्र
राधा ज्ञवाली            ऊर्जा
पुरुषोत्तम पौडेल      युवा तथा खेलकुद
हरि पराजुली            कृषि विकास
लालबाबु पण्डित     सामान्य प्रशासन
कर्णबहादुर थापा      उद्योग
भीम आचार्य             पर्यटन
खगराज अधिकारी     स्वास्थ्य
दलबहादुर राना         भूमिसुधार
टेकबहादुर गुरुङ        श्रम राज्यमन्त्री

एमालेबाट ८, कांग्रेसबाट ३ नयाँ अनुहार
सौर्य समाचार

काठमाडौं, १३ फागुन । कांग्रेस सभापति सुशील कोइराला नेतृत्त्वको सरकारमा एमालेले उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम र राधा ज्ञवालीबाहेक आठ नयाँ अनुहारलाई मन्त्री बनाएको छ ।
ज्ञावली, डा. बाबुराम भट्टराई सरकारमा १३ दिन मात्र ऊर्जा मन्त्री भइन् । कांग्रेसले भने अनुभवीलाई मन्त्रीमा प्राथमिकता दिएको छ । कांग्रेसका नौमध्ये चित्रलेखा यादव, डा. नारायण खड्का र टेकबहादुर गुरुङ पहिलोपटक मन्त्री बनेका हुन् । यसअघि ०६१ सालमा विमलेन्द्र निधी मातहत शिक्षा राज्यमन्त्री भएका एनपी साउदले पनि पहिलोपटक पुर्ण मन्त्रालय हाँक्ने मौका पाएका छन् ।
यता नेकपा एमालले  यस अघि मन्त्री नभएकालाई प्राथमिकता दिएको छ । लाल बाबु पण्डित , भिम आचार्य, हरी पराजुली, पुरुषोत्तम  पौडेल, कर्ण थापा, दल बहादुर राना, खगराज अधीकारी र महेन्द्र पाण्डे पहिलो पटक मन्त्री भएका हुन् । मन्त्री हुनेमा हरि पराजुली र पुरुषोत्तम पौडेल बाहके अन्य केन्द्रिय समितीका हुन् ।
मन्त्रीमण्डलमा एमालले मेची र काठमाडौ उपत्यकालाई समेटको छैन । पार्टीको सांगठनिक रूपमा खेलकुदमा आबद्ध दुइ जना मन्त्री भएका छन् । कर्ण एमालेका खेलकुद इन्चार्ज हुन् भने पुरुषोत्तम नेपाल खेलकुद महासंघका अध्यक्ष हुन्  ।
एमालेले यस अघि चुनाब नजीतेको तथा यस पटक तीन क्षेत्रमा जित हात पारेको बाँकेबाट अरु सवैलाई पछि पार्दै गैर सभासद हरि पराजुली मन्त्री बन्न सफल भएका छन् । गौतमसँगै भेरीबाट पराजुली पनि मन्त्री बने । र कोशीका पण्डित र आचार्य मन्त्री बने । सुदुर पश्चिमको एक्लो प्रतिनिधीका रूपमा थापा रहेका छन् ।
संबिधान सभा निर्वाचनमा एमालेले एउटा पनि सिट नजितेको नुवाकोटले पनि महेन्द्र पाण्डेलाई मन्त्रीका रूपमा पाएको छ ।  मन्त्री भएका भिम आचार्य यस अघि  र अहिले पनि सुनसरीबाट निर्वाचित सभासद हुन् ।
दल बहादुर राना यस अघिको संविधानसभामा पाल्पाबाट निर्वाचित भएपनि यस पटक उनी सभासद छैनन् ।  नया मन्त्री मण्डलमा पार्टीका बरिष्ठ नेतामा माधब नेपालको प्रभाब कम रहेको छ । नेपालले आफू निकट ब्यक्तिलाईमन्त्री बनाउन कुनै चासो दिएका थिएनन् भने एक दिन रातीसम्म नामावली तयार गर्न नसकेको एमालेले मंगलबार बिहान नामावलीलाई अन्तिम रूप दिएको थियो । यस क्रममा पटक पटक नामावलीमा हरेफेर भएको बताइएको छ ।

प्रतिक्रिया