काठमाडौं, १३ फागुन । प्रधानमन्त्री सुशील कोइरालाको एक वर्षभित्र नयाँ संविधान बनाउने प्रतिबद्धताबाट संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुन उत्साही भएका छन् ।
कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएकामा महासचिव बानले मंगलबार पठाएको बधाई सन्देशमा विभिन्न राजनीतिक दलको सहमतिका आधारमा संविधानको मस्यौदा निर्माण प्रक्रिया उक्त अविधिमा पूरा गर्ने कोइरालाको प्रतिबद्धताबाट आफू उत्साहित भएको जनाएका हुन् ।
‘तपाईंको नेतृत्वमा नयाँ संविधान जारी गर्ने नेपालको ऐतिहासिक दायित्त्व पूरा हुने तथा वास्तविक मेलमिलाप र राष्ट्रिय संवाद एवं छलफल प्रवद्र्धन हुनेमा मेरो दृढ विश्वास छ’, महासचिव बानले सन्देशमा भनेका छन् ।
प्रधानमन्त्री कोइरालाका हरेक प्रयासमा संयुक्त राष्ट्रसंघको निरन्तर सहयोग रहने प्रतिबद्धता पनि महासचिवले व्यक्त गरेका छन् । राष्ट्रसंघीय गतिविधिमा नेपालको सक्रिय सहभागिताको सराहना गर्दै उनले विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको विशेष योगदानको प्रशंसासमेत गरेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित मुलुकहरको समूह र सहस्राब्दी विकास लक्ष्य प्राप्तिमा नेपालले निर्वाह गरेको नेतृत्त्वदायी भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव बानले हाल विश्वले झेल्नु परेका चुनौतिको सामना गर्न राष्ट्रसंघलाई अझ प्रभावकारी एवं फलदायी तुल्याउनमा नेपालको योगदान रहेको पनि सन्देशमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया