काठमाडौं ९ फागुन । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले मन्त्रालय बाँडफाँडको विवाद प्रधानमन्त्री सुशील कोइरालाले चाहे मिल्न सक्ने बताएका छन् ।
नेता डा. भट्टराईले गृह मन्त्रालयसम्बन्धी विवादको बल अहिले प्रधानमन्त्रीको कोर्टमा भएको जीकिर गरे । विवाद समाधान गर्ने विषयमा बल प्रधानमन्त्रीको हातमा रहेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता डा. भट्टराईले कोइरालाले चाहे विवाद समाधान हुने धारणा राखे ।
यसअघि दुईपटक सरकारको नेतृत्त्व गर्दा एमाओवादीले गृहमन्त्रालय नलिएको भन्दै अहिले कांग्रेस र एमालेको विवाद बुझिनसक्नु भएको टिप्पणीसमेत उनले गरेका छन् । ‘अहिले कांग्रेस र एमाले गृहमन्त्रालय नपाए आकासै खस्ने जुन कुरा गरिरहेका छन्,’ सामाजिक सञ्जाल फेसबुकमा डा. भट्टराईले भनेका छन्– ‘त्यो बुझिनसक्नु भएको छ ।’
डा. भट्टराईले एमाओवादी सरकारमा जाने हल्ला निराधार भएको पनि स्पष्ट पारेका छन् । सरकारमा जाने नजानेबारे पार्टी नेताहरूको फरक–फरक धारणा सार्वजनिक भइरहेको बेला डा. भट्टराईले राष्ट्रिय सहमतिको सरकारबाहेक अरु कुनै पनि सरकारमा एमाओवादी सहभागी नबन्ने पनि स्पष्ट पारेका छन् । ‘राष्ट्रिय सहमतिको सरकारमा बाहेक अरु कुनै सरकारमा अहिले एमाओवादी सहभागी बन्दैन र बन्नु हुँदैन’ डा. भट्टराईले भनेका छन्, ‘अरु सबै अनुमान र हल्ला निराधार हुन् ।’
प्रतिक्रिया