सभामुख नेम्बाङबाट सपथग्रहण

sapath
काठमाडौं, ७ फागुन । राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाका नवनिर्वाचित अध्यक्ष सुवासचन्द्र नेम्बाङ्लाई बुधवार पद तथा गोपनियताको सपथ गराएका छन् ।
राष्ट्रपति भवन सितलनिवासमा आयोजित समारोहमा राष्ट्रपतिले नेम्बाङलाई सपथ गराएका हुन् । सपथग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापा, कामु प्रधानन्यायाधीश दामोदर शर्मालगायत संवैधानिक अंगका प्रमुख, सरकारका विशिष्ट कर्मचारीहरूलगायतको उपस्थिति थियो ।
नेम्वाङ दोस्रो संविधानसभाको अध्यक्षमा मंगलबार निर्विरोध चयन भएका थिए । यसअघिको संविधानसभामा पनि सोही भूमिकामा रहेका नेम्बाङ सभामुखको रूपमा चौँथो कार्यकालका लागि निर्वाचित भएका हुन् । ०६२ र ६३ को आन्दोलनपछि पुन:स्थापित प्रतिनिधिसभा र तत्कालीन विद्रोही नेकपा माओवादी सहभागी भएको अन्तरिम संसदमा पनि नेम्बाङ नै सभामुख रहेका थिए ।
बुधबारै पदभार पनि ग्रहण
राष्ट्रपतिबाट सपथग्रहण गरेलगत्तै सिंहदरबार पुगेर नेम्बाङले पदभार पनि ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै नेम्बाङले धेरै विषयमा अघिल्लो संविधानसभामा सहमति जुटिसकेकाले त्यसलाई स्वामित्व ग्रहण गरेर संविधान लेखनको काममा अघि बढ्नु पर्ने धारणा राखे । पत्रकारसँग कुरा गर्दै नेम्बाङले एक वर्षभित्र नयाँ संविधान जारी गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धतासमेत जनाए । नेम्बाङले एक वर्षभित्र संविधान जारी गर्न दलहरू मिल्नुको विकल्प नरहेको बताए । उनले दलहरूले जनताका सामु गरेको प्रतिबद्धताअनुरूप संविधान लेखन प्रक्रियालाई पूर्णता दिन आफूले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
नेम्बाङलाई अध्यक्ष झाङको बधाई
संविधानसभाको अध्यक्षमा सुवासचन्द्र नेम्वाङ पुन: निर्वाचित भएकामा चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष झाङ डेजियाङले हार्दिक बधाई दिएका छन् । अध्यक्ष झाङले नेम्वाङलाई बुधबार पठाएको बधाई सन्देशमा सभाध्यक्ष नेम्बाङसँग दुई देशबीच संसदीय आदानप्रदानको प्रवद्र्धनका लागि सहकार्य र सहयोग गर्न आफू तत्पर रहेको बताएका छन् । चिरकालपर्यन्त दिगो रहने मैत्रीमा योगदान गर्ने सहयोगसम्बन्धी चीन–नेपाल विस्तृत सहकार्यको निरन्तर वृद्धिका निम्ति सहकार्य गर्न आफू उत्सुक रहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया