‘१ सय ८ महिलाको हत्या परिवारबाटै’

काठमाडौं, ७ फागुन । सन् २०१३ मा १ सय ८ महिलाको हत्या परिवारबाटै भएको तथ्य एक प्रतिवेदनले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जारी गरेको प्रतिवेदनअनुसार १ सय ८ जना महिलाको परिवारबाटै हत्या भएको हो ।
मानवअधिकार वर्ष पुस्तक २०१४ अनुसार देशभर भएका ३ सय ३१ हत्याका घटनामध्ये १ सय ८ जना महिलाको हत्यामा परिवारकै संलग्नता रहेको पाइएको हो । प्रतिवेदनअनुसार गएको वर्ष ४ हजार ५ सय ११ वटा घटनामध्ये राज्यपक्षबाट १ सय ९ र गैरराज्यपक्षबाट ३ हजार ४ सय ६९ महिला पीडित भएका छन् । आफ्नै बाबुले भाडाका हत्यारा प्रयोग गरी छोरीको हत्या गर्न लगाएको, पतिले पत्नीको हत्या गरेको, बालिकादेखि वृद्धासम्म बलात्कृत भएका घटना, कथिन प्रतिष्ठाका लागि छोरी बुहारीको हत्या गर्नु हिंसाको सबैभन्दा डरलाग्दो पक्ष भएको इन्सेकले जनाएको छ ।
इन्सेकको प्रतिवेदनअनुसार गएको वर्ष १ देखि १७ वर्षसम्मका ४ सय ६ बालबालिका बलात्कृत भएका छन् । गत वर्ष रुकुम जिल्लाको प्रहरी कार्यालयमा घरेलु हिंसाका कुनै पनि घटना दर्ता भएको छैन । सबैभन्दा बढी उजुरी काठमाडौंमा दर्ता भएको इन्सेकले जनाएको छ । सो संस्थाका अनुसार काठमाडौंमा १ हजार ५ सय ६७ उजुरी दर्ता भएका छन् ।
मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री तथा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले मानवअधिकारको ग्यारेन्टी गर्न संविधानमै यसको स्पष्ट उल्लेख गरिनुपर्नेर्े बताए । कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलको पनि उपस्थिति थियो ।

प्रतिक्रिया