काठमाडौ, ६ फागुन । सपथ लिएको एक सातापछि प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नेकपा एमालेसँग गृहमन्त्रालय बाँडफाँडमा भएको विवादले मन्त्रिमण्डल विस्तार हुन नसकेको हो ।
प्रधानमन्त्री कोइरालाले सहमतिमा आए एमालेसहितको नभए आफ्नै दलबाट मात्रै भए पनि मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बुझिएको छ । यसैबीच, प्रधानमन्त्री कोइरालाले तेस्रो वरियतामा रहने गरी एमालेलाई गृहमन्त्रालय दिन सकिने संकेत गरेका छन् । कोइरालाले यस्तो प्रस्ताव एमालेका शीर्ष नेताहरूलाई पठाएको बुझिएको छ । गृहमन्त्रालय एमालेलाई दिन नसक्ने अडान राख्दै आएका कोइराला तेस्रो वरियता मानेमा एमालेलाई गृह दिन सकिने पक्षमा देखिएका छन् । लामो समयसम्म विवाद कायम नराख्ने भन्दै कोइराला लचक भएका हुन् ।
उनले प्रधानमन्त्री पछिको दोस्रो वरियतामा कांग्रेसकै अन्य नेतालाई उपप्रधानमन्त्रीसहित दिने र तेस्रो वरियतामा एमालेलाई ल्याउने तयारी गरेको बुझिएको छ । उनले तेस्रो वरियता गृहसहितको मन्त्रालय लिन एमालेलाई प्रस्ताव गरेको बुझिएको छ । प्रधानमन्त्री कोइरालाले एमाले संसदीय दलका नेता केपी शर्मा ओली, अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधव नेपाललाई यस्तो प्रस्ताव पठाएका हुन् । एमालेका शीर्ष नेताहरूले कांग्रेसको प्रस्तावको विषयमा प्रतिक्रिया जनाएका छैनन् । प्रधानमन्त्री कोइरालाले एमाले सरकारमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् । संविधानसभाको अध्यक्षमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई कांग्रेसले पनि समर्थन गरेपछि सरकारमा एमालेको समर्थन रहने विश्वास प्रधानमन्त्री कोइरालाको छ ।
प्रस्तावसँगै प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद् विस्तारका लागि एमालेबाट मन्त्रीहरूको नामावली पनि मागेका छन् । प्रधानमन्त्री कोइरालाले एमालेबाट मन्त्रीहरूको नामावली नआए पनि आफ्नै पार्टीका मन्त्रीहरू सहभागी गराएर बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको स्रोतको दाबी छ । तर, एमालेले भने आफ्नो गृह नपाए सरकारमा नजाने पुरानो धारणामा कुनै परिवर्तन गरेको छैन । प्रधानमन्त्री कोइरालाबाहेक विनाविभागीय मन्त्रीका रूपमा डा. रामशरण महत मात्रै मन्त्रिमण्डलमा छन् ।
वामदेवको विरोध
गृहमन्त्री बन्ने चर्चामा रहेका एमाले उपाध्यक्ष वामदेव गौतमले कांग्रेसको सो प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रममा उनले खुलेरै कांग्रेसको प्रस्तावलाई अस्वीकार गरे । नेता गौतमले कांग्रेसको पुच्छर बनेर सरकारमा नजाने जवाफ दिए ।
गौतमले बहुमत नभएको कांग्रेसले टाङ्मुनी छिराएर एमालेलाई दयाको भीख दिन खोज्ने कुरा कुनै पनि हालतमा स्विकार्य हुन नसक्ने बताए । ‘९५ मा पाँच जोड्दा सय बन्छ भने ९५ जत्तिकै महत्त्व पाँचको पनि हुन्छ । यो तथ्यलाई कांग्रेसले विर्सनु हुँदैन,’ उनले भने ।
गौतमले अरुसँग बहुमतका लागि हात फैलाएको कांग्रेसले प्रधानमन्त्रीय प्रणाली र अरुलाई यो वा त्यो दिने भन्ने कुरा नसुहाउने तर्क गर्दै बहुमतीय र सहमतीय प्रणालीमा प्रधानमन्त्रीय पद्धतिभन्दा पनि साझा सरकारको पद्धति हुनु पर्ने बताए । उनले कांग्रेसले प्रधानमन्त्री निर्वाचनमा एमालेको समर्थन पाएपछि लात हानेको आरोप लगाउँदै एमाले सत्ता लिप्सा देखाउँदै सरकारमा जान मरिहत्ते नगर्ने स्पष्ट पारे ।
प्रतिक्रिया