संविधानसभा अध्यक्षमा उम्मेदवारी परेन

काठमाडौं, ५ फागुन । संविधानसभाले निधारण गरेको समयसीमाभित्र संविधानसभाको अध्यक्ष पदमा सोमबार कुनै पनि उम्मेदवारले उम्मेदवारी दर्ता गराएनन् । संविधानसभा सचिवालयले दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारीको दर्ता समय तोकेको थियो । तर, निर्धारित समयमा कसैले पनि उम्मेदवारी नदिएको संबिधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईले बताए ।
संविधानसभाको अध्यक्ष पदका लागि दलहरूबीच सहमति कायम हुन नसकेपछि त्यस पदका लागि राजनीतिक सहमतिका आधारमा कुनै पनि उम्मेदवारी पर्न सकेन । राजनीतिक सहमतिका लागि सोमबार अपराह्न संविधानसभा भवनमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको थियो । बैठकमा कांग्रेस–एमाले एक ठाउँमा उभिएका थिए भने एमाओवादीले आफूहरूले संविधानसभाको अध्यक्ष पद पाउनुपर्ने दाबी गरेका थिए । बैठकबाट बाहिरिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शक्ति सन्तुलनका लागि तेस्रो शक्ति एमाओवादीले अध्यक्ष पद पाउनु पर्ने दाबी गरे । कांग्रेस र एमालेले बैठकमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई सभाअध्यक्ष बनाउने सर्त राखेका थिए । उनीहरूको सर्त एमाओवादीले अस्विकार गरेपछि सहमति हुन नसकेको हो ।
राजनीतिक दलहरूबीच सहमतिमा संविधानसभा अध्यक्षको उम्मेदवार प्रस्ताव नभएपछि तालिकाअनुसार मंगलबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । दिउसो २:३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने र साँझ ५ बजे निर्वाचन गरिने भएको छ । तीन दलबिच सभाअध्यक्ष सहमतिका आधारमा चयन हुन नसकेपछि सत्तारुढ दल कांग्रेसले एमाले उम्मेदवारलाई सघाउने भएको छ ।

प्रतिक्रिया