काठमाडौं, ५ फागुन । पोखराबाट जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको हराइरहेको ९एन एबीबी ट्विनअटर जहाज अर्घाखाँचीको ढिकुरा–८ मसिनेलेकमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
जहाज टुक्राटुक्रा अवस्थामा फेला परेको छ भने जहाजमा सवार चालक दलका ३ सदस्यसहित १८ जनाको निधन भएको छ । दुर्घटनामा मृत्यु भएका सबै १८ जनाको शव नेपाली सेनाको एमआई १७ विमानबाट सोमबार नै काठमाडौं ल्याइएको छ । मृत्यु हुनेमध्ये ४ जनाको मात्रै शव पहिचान गर्न सकिने अवस्था थियो भने अन्यको शव क्षतविच्छेद अवस्थामा भेटिएको थियो ।
काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको नेपाल एयरलाइन्सको उक्त ट्विनअटर जहाज आइतबार दिउँसो १ बजेर १३ मिनेटदेखि सम्पर्कविहीन भएको थियो । त्यसलगत्तै आइतबार दिउँसोदेखि हराइरहेको जहाज राति अवेरसम्म सुरक्षा फौजले खोजी कार्य जारी राखे पनि भेटिएको थिएन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आइतबार दुर्घटना भएको सम्भावित स्थानमा खोजी कार्य गरे पनि सफल हुन सकेको थिएनन् ।
सोमबार बिहान करिब ९ बजे भने नेपाली सेनाको हेलिकप्टरले जहाज मसिनेलेकमा फेला पारेको थियो । त्यसपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको थियो ।
दुर्घटनामा क्षतविच्छेद शवहरूलाई काठमाडौं ल्याउनुपूर्व सिम्रिक एयरबाट दुई चरणमा अर्घाखाँचीको सन्धीखर्कस्थित नेपाली सेनाको चन्दनाथ गणमा राखिएको थियो । शवहरूलाई पोखरा लाने तयारी गरे पनि मृतकका परिवार र आफन्त काठमाडौंमा रहेकाले शव काठमाडौं नै ल्याइएको थियो । शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमपछि आफन्तलाई बुझाइने छ ।
पोखराबाट जुम्लाको लागि उडेको नेपाल वायु सेवा निगमको जहाज दुर्घटनामा नेता, पत्रकार, चिकित्सक, सैनिक अधिकारी, बैंकर, शिक्षक र एक बालकसहित १८ जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनाग्रस्त भएको जहाजमा नेपाली कांग्रेस जुम्लाका सभापति मानव सैजुवाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डा. विकल्प पोखरेल, कृषि विकास बैंकका प्रबन्धक राजेन्द्र देवकोटा, सेनाको २४ नम्बर बाहिनीका सेनानी दीपक श्रेष्ठको मृत्यु भएको छ ।
उक्त जहाज दुर्घटनामा नेपाल पत्रकार महासंघकी निवर्तमान केन्द्रीय सदस्य तथा रेडियो नारी आवाजकी अध्यक्ष गौरी कठायत, कालिकाखेतु प्राथमिक उपचार केन्द्रकी नर्स वर्षा हमाल र उनका ४ वर्षीय छोरा योगेश त्यसैगरी चन्दननाथ–६ का शिक्षक टेक महतरा र पत्नी नन्दा, छिनाका शिक्षक कृष्णनाथ योगीको पनि निधन भएको छ । यसैगरी, चन्दननाथ–९ मालाभीडका शिक्षक राजी चौलागाईं, २० वर्षीय भान्जा दीपेश शाही, जिल्ला हुलाक कार्यालयकी निमित्त प्रमुख उमा तामाङ र डेनमार्कका नागरिकको पनि निधन भएको छ ।
प्रतिक्रिया