सभामुखमा दुई पार्टीको दाबी

काठमाडौं, ४ फागुन । नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारीमा विवाद भइरहँदा तेस्रो ठूलो दल एमाओवादीले सभामुखमा आफ्नो दाबी प्रस्तुत गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले यसअघिको संविधानसभामा तेस्रो दलले सभामुख पाएको जिकिर गर्दै  यसपटक आफ्नो दलले सो पद पाउनुपर्ने दाबी गरेका हुन् ।
आइतबारको व्यवस्थापिका संसद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी अध्यक्ष दाहालले पहिलो संविधानसभामा एमालेलाई सभामुख दिइएको बताउँदै यसपटक आफूले सभामुखमा दाबी गर्नु स्वाभाविक रहेको बताए । एमाओवादीले तत्काल सरकार बाहिर बसेर संविधान निर्माण कार्यमा सहयोग गर्ने जनाए पनि संविधान निर्माणलगायत प्रक्रियाका लागि आफ्नो पार्टीले सभामुख पद पाउनुपर्ने दाबी गरेको छ ।
‘संविधान निर्माणलगायत कामलाई पनि सहज बनाउन हामीले सभामुख पद हाम्रो पार्टीलाई भनेका हौँ,’ एमाओवादी नेता पोस्टबहादुर बोगटीले भने, ‘कांग्रेस र एमाले दुवै दललाई सभामुख हाम्रो पार्टीबाट भएन भने संविधान निर्माणमा असहजता उत्पन्न हुन्छ ।’
संविधानसभामा दोस्रो ठूलो दल नेकपा (एमाले)ले पनि सो पदमा दाबी प्रस्तुत गरेको छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसलाई एमालेले सहयोग गरेकाले सभामुख एमालेले पाउनुपर्ने जिकिर सो पार्टीको छ ।  एमाले संसदीय दलका नेता केपी ओलीले भने । ‘यसअघि नै एमालेलाई सभाअध्यक्ष दिने सहमति कांग्रेस र एमालेबीच भइसकेको छ, हाम्रो तर्फबाट सुवास नेम्वाङजी सभाध्यक्षको उम्मेदवार हो ।’ नेम्वाङ विघटित संविधानसभाको पनि अध्यक्ष थिए । संविधानसभाको अध्यक्षको निर्वाचन  मंगलबार ५ बजेलाई तोकिएको छ । कार्यव्यवस्था समितिको सुझावमा निर्वाचन मिति र समय तोकिएको हो ।

प्रतिक्रिया