विकल्प खोज्दै कोइराला

sushil copyकाठमाडौं, ३ फागुन । एमालेसँग दूरी बढिरहेको बेला प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सरकारलाई समर्थन जुटाउन अन्य सहयोगीको खोजी गर्न थालेका छन् । यसै क्रममा प्रतिपक्षमा बस्ने घोषणा गरेको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री कोइरालाबीच भेटवार्ता भएको छ । कोइराला प्रधानमन्त्री भएपछि दुई नेताबीच भएको यो पहिलो राजनीतिक छलफल हो ।
दुवै नेताबीचको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । नेकपा एमालेले प्रतिपक्षमा बस्ने चेतावनी दिइरहेको बेला एमाओवादीसँग सहयोगको अपेक्षा गर्दै प्रधानमन्त्री कोइरालाले गरेको भेटले नेपाली राजनीति फरक ढंगले अगाडि बढ्न सक्ने अनुमान पनि गरिएको छ ।
शनिबार साँझ कोइराला निवास महाराजगन्ज पुगेका एमाओवादी अध्यक्ष दाहालले वर्तमान सरकारलाई आवश्यक सहयोग गर्ने वचन दिएको स्रोतको दाबी छ । भेटमा अध्यक्ष दाहालले एमाले सरकारबाट बाहिर रहने अवस्था आएमा आफ्नो दलले समर्थन गर्न तयार भएको संकेत गरेको पनि स्रोतको भनाइ छ । गृहमन्त्रालयको विषयमा विवाद सुरु भएपछि सत्ता साझेदार बन्ने अन्तिम तयारी भइसकेको एमाले विपक्षमा बस्ने अवस्थामा पुगेको हो ।
‘सरकार निर्माणको पूर्णता छिटो दिनुहोस् भनेर प्रधानमन्त्री कोइरालालाई भन्नुभएको छ,’ अध्यक्ष दाहालका स्वकीय सचिव चुडामणि खड्काले सौर्यसँग भने, ‘पार्टी तत्काल सरकारमा जाँदैन तर गम्भीर संकट पैदा भएको खण्डमा भने पार्टीबाट निर्णय गरेर जानसक्ने विषयमा पनि छलफल भएको हो ।’
दुई नेताबीच सभामुख चयनका विषयमा पनि छलफल भएको बताइएको
अब एमाले सरकार बाहिर : पौडेल
काठमाडौं : नेकपा एमालेका सचिव एवं वार्ता टोलीका सदस्य विष्णु पौडेलले आफ्नो दलले अब गृहमन्त्रालय पाए पनि सरकारमा नजाने बताएका छन् । कांग्रेस नेतृत्त्वको सरकारमा आफ्नो दल सहभागी हुने सम्भावना सकिँदै गएको नेता पौडेलको भनाइ छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले सहमति तोडेर सुरुवातमै धोका दिएको भन्दै अब गृहमन्त्रालय दिए पनि एमाले सरकारमा नजाने दाबी गरे । कांग्रेसले सहमति तोडेको भन्दै प्रधानमन्त्री सुशील कोइराला नेतृत्त्वको सरकारमा एमाले जाने ढोका बन्द भएको उनको तर्क थियो ।
सचिव पौडेलले सुवास नेम्वाङलाई सभामुख बनाउने सहमतिबाट पनि कांग्रेस पछि हट्न सक्ने आशंका गर्दै आफूहरू सातबुँदे सहमति पूर्णरूपमा कार्यान्वयन गर्ने पक्षमा रहेको बताए । उनले आफूहरू सरकारमा नगए पनि संविधानसभा सञ्चालन नियमावाली बनेको एक वर्षभित्र संविधान जारी गर्न भने प्रतिबद्ध रहेको बताए ।
सचिव पौडेलले सरकारमा जाने विषयमा अब कांग्रेससँग वार्ता पनि नहुने बताए । नेता पौडेलले एमालेलाई उपप्रधानसहित गृह दिने विषयमा वार्ता टोली र शीर्ष नेताको तहमा सहमति भएको र आवश्यक पर्दा सहमतिको प्रमाण देखाउनसमेत सकिने दाबी गरे । उनले भने, ‘राम्रो काम गरे समर्थन कायम रहन्छ नराम्रो काम गर्न थाले फिर्ता हुन्छ ।’

प्रतिक्रिया