काठमाडौं, ३ फागुन । एक्कासि भएको वर्षाले राजधानी काठमाडौंलगायत देशभरको जनजीवन प्रभावित भएको छ । राजधानीमा शनिबार दिनभर फाटफुट वर्षा भइरह्यो । वर्षाका कारण राजधानी काठमाडौंलगायत आसपासका क्षेत्रमा चिसो बढ्यो । चिसोले उपत्यका मात्र होइन देशका अन्य भूभागमा पनि असर परेको छ । विभिन्न पहाडी र उच्च पहाडी क्षेत्रमा हिमपातसमेत भएको बताइएको छ । मौसमविद्हरूका अनुसार आइतबारबाट मौसम सफा हुने र न्यायो सुरु हुनेछ ।
सोलुखुम्बुमा पनि प्रभाव
बाक्लो हुस्सु र सिमसिमे पानीका कारण चिसोले सोलुखुम्बु जिल्लाको जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहानदेखि एक्कासि मौसम परिवर्तन भई बाक्लो हुस्सु र सिमसिम पानी परेपछि जिल्लावासीलाई चिसोले सताएको हो । पर्यटकीय क्षेत्र भनेर परिचित खुम्बु क्षेत्रमा कुहिरो र सिमसिम पानीसँगै परेको हिउँले बालबालिका र वृद्धवृद्धालाई बढी सताएको बताइएको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा मात्र होइन तल्लो क्षेत्रमा पनि चिसोले धेरैलाई सताएको छ । सदरमुकाम सल्लेरी आसपासमा पहिलेको तुलनामा बढी चिसो महसुस गरिएको छ । जाडो छल्नका लागि जिल्लाको अधिकांश क्षेत्रका स्थानीय बासिन्दा घरभित्रै आगो तापेर बसिरहेका छन् ।
जुम्लामा लगातार हिमपात
जुम्लामा पुन: हिमपात सुरु भएको छ । शुक्रबार बिहानबाट सुरु भएको हिमपात दिउँसो केही बेर रोकिए पनि गएरातिबाट पुन: हिमपात सुरु भएको बताइएको छ । मध्य रातदेखि हिमपात नरोकिएपछि सो क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।
शुक्रबारदेखि नै स्थानयि बासिन्दालाई घरबाहिर निस्कन कठिनाइ भएको थियो । हिमपातले कर्णाली राजमार्गमा सञ्चालन हुने लामो तथा छोटो दूरीका गाडी रोकिएका छन् । हवाई सेवा पनि बन्द भएका छन् । बजार, पसल पनि खुलेका छैनन् । जुम्लामा यो मौसममा अहिलेसम्म चारपटक हिमपात भएको छ ।
हिमपातले स्तरवृद्धि हुँदै गरेको कर्णाली राजमार्गको काम पनि प्रभावित भएको छ । जुम्ला सदरमुकाममा अहिले एक फिटजति हिउँ जमेको छ ।
म्याग्दीमा पनि हिमपात
म्याग्दीका उच्च पहाडी क्षेत्रमा शनिबार हिमपात भएको छ । शुक्रबारदेखि मौसममा भएको बदली र चिसोसँगै शनिबार बिहान हिमपात भएको हो । गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, कुइनेमंगले, शिख र घार गाविसको उच्च पहाडी बस्तीमा शनिबार दोस्रोपटक हिमपात भएको छ । गत माघ महिनाको पहिलो हप्ता पनि सो क्षेत्रमा हिमपात भएको थियो । शनिबार बिहान १० बजेदेखि हिउँ पर्न थालेको थियो ।
डोल्पामा हिमपातसँगै वर्षा
डोल्पामा शनिबार बिहान वर्षासँगै हिमपात सुरु भएको छ । बिहान दुई घन्टाजति लगातार वर्षा भएपछि हिमपात सुरु भएको थियो ।
सदरमुकाम दुनैदेखि ७० किलोमिटर टाढा पर्ने सात हजार ७ सय ५४ मिटर उचाइँमा पर्ने डोल्पाका उत्तरी भेगका लागुन, मुकोट, फोक्सुन्डोलगायत गाविसमा शुक्रबार बिहानैदेखि हिमपात भएको बताइएको छ । डोल्पाका २३ वटै गाविसमा वर्षा भएको छ ।
प्रतिक्रिया