काठमाडौं, २ फागुन । नेकपा एमालेका अध्यक्ष झलनाथले आफ्नो पार्टी दुई दलबीच अहिले देखिएको विवाद समाधानका लागि छलफल गर्न तयार रहेको बताएका छन् । उनले आफ्नो दल वार्ता गर्न तयार नभएको भन्ने तर्क गलत भएको पनि बताएका छन् ।
शुक्रबार बसेको व्यवस्थापिका संसदको बैठकपछि अध्यक्ष खनालले कांग्रेसले बोलाएको खण्डमा जुनसुकै बेला वार्तामा बस्न आफू तयार रहेको बताए ।
‘हामी वार्तामा बस्न तयार छौँ भनिरहेका छौँ,’ उनले भने, ‘यस्तोमा एमाले वार्तामा बस्न मानेन भन्नु गलत हो ।’ खनालले कांग्रेससँग सहमतिको प्रयास जारी रहेको पनि बताए । उनले सरकारलाई पूर्णता दिने विषयमा सहमतिको प्रयास भइरहेको बताए ।
गृहमन्त्रालयबाट सुरु भएको कांग्रेस र एमालेको विवाद बढ्दै गएपछि दुई दलबीच भएको सहमति पनि टुट्न सक्ने संकेत देखिएको छ । कांग्रेस गृहमन्त्रालय आफैसँग राख्ने हठमा छ । उता गृह नपाए सरकारमा सहभागी नहुने अडान यसअघि नै एमालेले राखिसकेको छ । जसका कारण सरकारले पूर्णता पाउन पनि सकिरहेको छैन । एमालेले गृहसहित महत्त्वपूर्ण मन्त्रालयलाई सरकारमा सहभागी हुने बटमलाइन बनाएको छ । यसै विषयमा छलफल गर्न कांग्रेसको वार्ता टोलीका सदस्य दीपकुमार उपाध्याय एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई भेट्न शुक्रबार बिहान उनको निवास बालकोट पुगेका थिए । सो भेटमा मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा छलफल भए पनि छलफल त्यति सकारात्मक नभएको नेता उपाध्यायाले बताए ।
एमाले संसदीय दलका नेता ओलीले गृहमन्त्रालय नदिने भए थप छलफल आवश्यक नभएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार एमालेलाई अहिले गृह नदिने भए सम्पूर्ण समय आफ्नो दल प्रतिपक्षमा बस्ने चेतावनी पनि नेता ओलीले दिएका थिए ।
नेता ओलीले गृहमन्त्रालय आफूहरूले नपाए सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्ने संकेत पनि छलफलका क्रममा गरेको बताइएको छ । ‘गृहमा सहमति भएको छैन भन्ने कुरा गर्नुहुन्छ भने अब चारै वर्ष अरुसँग मिलेर सरकार चलाउनुस्,’ उपाध्यायसँगको छलफलमा ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हामी दोस्रो पार्टी हो, प्रतिपक्षमा बस्न हामीलाई संकोच छैन ।’ छलफलमा कांग्रेस नेता उपाध्यायले प्रधानमन्त्रीलाई कार्यसञ्चालनमा सहजताका लागि गृह राख्न खोजिएको बताएका थिए । तर, ओलीले गृह दिने आधारमै सरकारलाई समर्थन गर्ने सहमति भएकाले आफूहरू त्यसबाट पछि हट्न नसक्ने बताएका थिए ।
छलफलपछि नेता उपाध्यायले सहमतिको वातावरण बिगँदै गएको बताएका छन् । उनले गृह दिने विषयमा सहमति नभएको दाबी गर्दै एमालेले अनावश्यक बखेडा झिकेको जीकिर गरे । ‘वार्ता टोलीले कहिल्यै गृह दिने भनेको थिएन’ उनले भने, ‘तर, कहाँको कुरा ल्याएर एक दिनपछि अर्को दिन झन् कुरा बिग्रँदै गएको छ ।’
नेता ओलीसँग भएको भेटपछि कांग्रेस नेता उपाध्याय केही निराश देखिन्थे । उनले सहमतिको वातावरण बिग्रँदै गएको बताए ।
यता एमाले उपाध्यक्ष वामदेव गौतमले पनि आफूहरूले साथ दिन खोज्दा प्रधानमन्त्री सुशील कोइरालाले उल्टै लेखेटेको आरोप लगाए । ‘कोइराला नेतृत्त्वको सरकारलाई साथ दिन खोजेका थियौँ । तर सुशीलजीले नै एमालेलाई लखेट्नु भयो,’ उनले भने ।
गौतमले प्रधानमन्त्री कोइरालाले सरकारको जिम्मेवारी बाँडफाँडको जानकारी सभामुखमार्फत संसदलाई गराए पनि शुभकामना लिनबाट भने डराएको बताए । उनले प्रधानमन्त्री कोइराला एक्लै हिँड्न खोजेको उल्लेख गर्दै संसदमा शुक्रबार उनी डराएकै कारण शुभकामना प्रस्ताव नल्याएको जीकिर गरे ।
शुक्रबार प्रधानमन्त्री कोइरालाले दलहरूको बधाई लिने कार्यक्रम रहे पनि स्थगन गरिएको थियो । संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै एमालेका अर्का नेता माधवकुमार नेपालले दुई दलबीचको असहमति चाँडै टुंग्याएर एक वर्षभित्र मुलुकलाई संविधान दिन दलहरू लाग्नुपर्ने बताए ।
संसदमा सरकारलाई बधाई दिने कार्यक्रम रोकियो
व्यवस्थापिका संसदमा नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई बधाई दिने कार्यक्रम रोकिएको छ । सरकारले सामान्य आकार पनि ग्रहण नगरेपछि बधाई दिने कार्यक्रम स्थगित भएको हो । सभामुखको जिम्मेवारी सम्हालेका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले पटक–पटक बधाई दिनुभन्दा सरकारले पूर्णता लिएपछि बधाई दिइने जानकारी दिए । शुक्रबारको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । विनाविभागीय मन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको ‘विनियोजन अध्यादेश, ०६९’ र ‘विनियोजन अध्यादेश, ०७०’ सर्वसम्मतले स्वीकृत गरेको हो । ती दुवै अध्यादेश अघिल्लो सरकारले प्रस्तुत गरेको थियो ।
प्रतिक्रिया