एजेन्सी २ फागुन । इन्डोनेसियाको पूर्वी जाभामा ज्वालामुखी विष्फोट भएपछि हजारौँ बासिन्दा आफ्नो घरबार छाडेर अन्यत्र जान बाध्य भएका छन् ।
घनाबस्ती रहेको सो क्षेत्रको केलुड पहाडबाट सो ज्वालामुखी विष्फोट भएको थियो । ज्वालामुखी विष्फोट हुँदा सो क्षेत्रका झन्डै दुई लाख बासिन्दा अन्यत्र जान बाध्य भएका छन् । तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएका छन् । अहिलेसम्म सो क्षेत्रमा कम्तिमा दुई जनाको मृत्यु भइसकेको छ । ज्वालामुखी विष्फोट भएपछि सो क्षेत्रमा खरानीको वर्षा भएको छ । खरानीको वर्षा भएपछि घर भाँसिदा ती दुई जनाको मृत्यु भएको बताइएको छ । केही सहरमा त चार सेन्टिमिटर बाक्लो खरानीको वर्षा भएको बताइएको छ । खरानीको वर्षा विष्फोट भएको क्षेत्रबाट झन्डै १५ किलोमिटर परसम्म देखिएको बताइएको छ । खरानीसँगै बालुवा र चट्टानहरू पनि खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सो पहाडको टुप्पोमा चटयाङ परेको बेला देखिने बिजुली चम्केको दृश्य देखिएको बताइएको छ । ज्वालामुखी विष्फोटको असर सुरावय सहरमा पनि परेको बताइएको छ । सो क्षेत्रको वायुमण्डलमा खरानीका कारण तुवाँलो लागेको छ । जसका कारण विमानहरू उड्न र अवतरण गर्न सकेनन् । केही विमानहरूमा समेत क्षति पुगेको हुन सक्ने बताइएको छ । ज्वालामुखी विष्फोट हुनुभन्दा झन्डै एक घन्टापहिले नै अधिकारीहरूले घटनाको पूर्वजानकारी सबैलाई दिइसकेका थिए ।
जसका कारण ३६ वटा गाउँका हजारौँ बासिन्दालाई तत्काल अन्यत्र जान भनिएको थियो । १ हजार सात सय ३१ मिटर अग्लो सो पहाडमा केही साताअगाडिबाटै केही गतिविधि देखिएको बताइएको छ । ठूलो विष्फोटपछि अर्को विष्फोट हुने सम्भावना न्यून रहेको विज्ञहरूले बताएका छन् । त्यसैले सो क्षेत्रमा थप खतरा नहुने उनीहरूको अनुमान छ ।
यसअघि यहाँ सन् १९९० मा ज्वालामुखी विष्फोट भएको थियो जसमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको थियो । सन् १९१९ मा पनि इन्डोनेसियामा विष्फोट हुँदा ५ हजारभन्दा बढीको मृत्यु भएको थियो । ज्वालामुखी विष्फोट हुने र भूकम्पको अत्यन्तै जोखिम रहेको क्षेत्रका रूपमा इन्डोनेसियालाई लिने गरिन्छ । इन्डोनेसियामा झन्डै १ सय ३० वटा सक्रिय ज्वालामुखीहरू छन् । गत महिना मात्रै पनि सुमात्रा टापुनजिकै रहेको एउटा पहाडमा विष्फोट हुँदा कम्तिमा १४ को मृत्यु भएको थियो ।
प्रतिक्रिया