एमालेको सम्मानजनक स्थान हुनुपर्ने

पोखरा, २९ माघ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसले आफ्नो दलसँग गरेको सहमति पूर्णपालना गर्नुपर्ने बताएका छन् । उनले एमालेलाई सरकारमा सहभागी गराउन कांग्रेसले सम्मानजनक हिस्सा दिनुपर्ने बताए ।
प्रेस चौतारी नेपाल कास्कीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले दोस्रो संविधानसभाको निर्वाचनमा दुवै पार्टीलाई नेपाली जनताले हाराहारीको म्यान्डेट दिएकाले विश्वासको सम्बन्ध कायम गर्दै दुवै पार्टी अघि बढ्नुपर्ने बताए ।
प्रधानमन्त्रीको सपथग्रहण एमालेले बहिष्कार नगरेको बताउँदै वरिष्ठ नेता नेपालले आफ्नो दलको समर्थनमा प्रधानमन्त्री बनेका सुशील कोइरालाको सपथग्रहणमा आफू र पार्टी अध्यक्ष स्वयं सहभाग िभएको बताए । गृहमन्त्रालय कांग्रेसले आफैँ राख्नुपर्छ भन्ने तर्कको कुनै तुक नभएको पनि नेता नेपालको तर्क थियो ।
एमाले पदका लागि मरिहत्ते गर्ने पार्टी होइन भन्दै उनले सरकारमा सहभागी भए पनि वा नभए पनि पनि ६ महिनाभित्र संविधानको मस्यौदा तयार गर्न र एक वर्षभित्र नयाँ संविधान जारी गर्न आफ्नो दल प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया