डिनमा डा. श्रीवास्तव नियुक्त

काठमाडौं, २९ माघ । त्रिभुवन विश्वविद्यालयले प्रा.डा. राकेश श्रीवास्तवलाई चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त गरेको छ । त्रिविको कार्यकारिणी परिषद्ले बुधबार डा. श्रीवास्तवलाई डिन नियुक्ति गरेको हो ।
त्रिविका उपकुलपति प्रा.डा. हिराबहादुर महर्जनले वरिष्ठताका आधारमा डा. श्रीवास्तवलाई नियुक्ति गरिएको बताए । डिन नियुक्तिलगायत आफ्ना माग पूरा नभएको भन्दै शिक्षण अस्पतालका डा.गोविन्द केसीले ५ दिन अघिदेखि अनसनमा छन् ।
डा.केसीले अनसन नछाड्ने
त्रिविका पदाधिकारीको बर्खास्तीसमेत माग गरिरहेका डा. केसीले डिन नियुक्तिपछि पनि अनशन जारी राखेका छन् । डा. केसीले अरु ५ वटा माग पनि उत्तिकै महत्वपूर्ण भएको दाबी गर्दै अनशन नछाड्ने बताएका छन् ।
सरकारले डा. केसीका सबै माग पूरा गरिदिने लिखित प्रतिवद्धता जनाएपछि गत ९ माघमा अनशन तोडेका थिए । त्रिवि पदाधिकारीले उनका माग पूरा नगरेपछि डा. केसीले ५ दिनअघि फेरि अनशन थाल्दा उपकुलपति, रेक्टर र रजिष्ट्रारको बर्खास्तीको मागलाई एक नम्बरमा राखेका थिए । त्रिवि परिषद्को बुधबार बसेको बैठकले वरिष्ठताको आधारमा टिचिङका वरिष्ठतम् चिकित्सक श्रीवास्तवलाई डिन नियुक्त गरेको हो । डा. श्रीवास्तव नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् ।
डा. केसी पछिल्लोपटक शनिबारदेखि संस्थानमा पुराना डिन प्रकाश सायमीलाई पुनर्नियुक्ति गर्न वा वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नेलगायत माग राखेर अनशनमा छन् । उनको अनशनमा ऐक्यबद्धता जनाउन चिकित्सकहरूले बहिरंग सेवासमेत पनि ठप्प पार्दै आन्दोलनमा छन् । मंगलबार मात्रै प्रधानमन्त्रीको कार्यभार सम्हालेका सुशील कोइरालाले २४ घन्टाभित्र डिन नियुक्त गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री त्रिविको कुलपति पनि हुन् ।

प्रतिक्रिया