वामदेवबाहेकलाई गृह दिन कांग्रेस तयार

काठमाडौं, २८ माघ । गृहमन्त्रालय आफैँ राख्ने अडानमा रहेको नेपाली कांग्रेस अन्तत: एमाले उपाध्यक्ष वामदेव गौतमबाहेक अन्य नेतालाई सो मन्त्रालय दिन तयार भएको छ ।
बुधबार दुई दलका नेताबीच भएको छलफलमा गौतमबाहेकका एमाले नेतालाई गृह दिन कांग्रेसले सहमति जनाएको बुझिएको छ ।
एमाले संसदीय दलका नेता केपी ओलीसँग भएको अनौपचारिक छलफलमा कांग्रेस नेताहरूले गौतमबाहेक अरु कसैलाई मन्त्रीका रूपमा पठाउन आग्रह गरेका थिए । ‘गृहमन्त्री लिने भए गौतमबाहेकका व्यक्तिलाई पठाउनुस्’ वार्तामा सहभागी एक कांग्रेस नेताले भने, ‘पहिले गृहमन्त्री हुँदा विभिन्न प्रकरणमा गौतम जोडिएकाले फ्रेस व्यक्तिलाई पठाउन आग्रह गर्‍यौँ ।’
कांग्रेसले गृहमन्त्री दिन तयार भएको जानकारी संसदीय दलका नेता ओलीले अध्यक्ष झलनाथ खनाललाई गराएका थिए ।  तर, खनालले भने एमालेको निर्णय कांग्रेसले गर्न नमिल्ने भन्दै गौतमको बिकल्प खोज्नु गलत भएको जवाफ ओलीलाई दिएका थिए । बार्तामा खट्एिका कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार दुई दल विच भएको सहमितलाई अन्तिमरूप दिन शिर्ष नेताहरूको बैठक बस्नेछ । गौतम बाहेक अन्य नेतालाई गृह मन्त्रीका रूपमा पठाउने वा नपठाउने भन्ने विषयमा एमालेले कुनै निर्णय गरेको छैन । वार्तामा सहभागि ओली निकट एमाले नेता कृष्ण गोपाल श्रेष्ठले भने गौतम नै गृहमन्त्री हुने दावी गरे ।
गृहमन्त्रीमा  गौतमलाई नै पठाउने भए तत्काल निर्णय नगर्न काँग्रेसले एमालेलाई आग्रह पनि गरेको बुझिएको छ ।
कांग्रेससँग गठबन्धन नतोड
गृहमन्त्री नपाएपछि सरकारबाहिर बस्ने चेतावनी दिँदै आएको नेकपा एमालेलाई कांग्रेससँगको गठबन्धनलाई निरन्तरता दिन साना दलले आग्रह गरेका छन् । कोइराला नेतृत्वको सरकारलाई समर्थन गर्ने साना दलसँग बुधबार भएको छलफलमा उनीहरूले यस्तो आग्रह गरेका हुन्  ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा साना दलले कांग्रेससँगको सहकार्य नै प्राकृतिक हुने भएकाले त्यसैलाई नै निरन्तरता दिन आग्रह गरेका हुन् ।
एमालेले आह्वान गरेको बैठकमा उनीहरूले ‘संविधान लेखनका लागि पनि काँग्रेस–एमाले गठबन्धन लोकतान्त्रिक र प्राकृतिक हुने’ उल्लेख गर्दै त्यसको निरन्तरताका लागि आग्रह गरे । एउटा मन्त्रालयको नाममा देश विकास र संविधान लेखन प्रभावित हुन नदिनेतर्फ उनीहरूले एमालेको ध्यानाकर्षण समेत गराए ।
एमालेसँगको सहकार्य टुटेमा कांग्रेसले एमाओवादी, राप्रपा नेपाल र मधेसी शक्तिसँग अप्राकृतिक गठबन्धन गरेर भए पनि सरकार बनाउन सक्ने भएकाले त्यसतर्फ गम्भीर हुन पनि उनीहरूले एमाले नेतृत्त्वलाई सुझाव दिएका थिए ।
लिखित वा मौखिक भएको सहमति जसका कारण उल्लंघन भए पनि संविधान निर्माणलाई मूल जिम्मेवारी सम्झेरअगाडि बढ्न उनीहरूले आग्रह गरे ।
बैठकमा एमाले नेताहरूले कांग्रेसले धोका दिएको दाबी गरे । एमाले अध्यक्ष झलनाथ खनाल, संसदीय दलका नेता केपी ओली र उपाध्यक्ष वामदेव गौतमले कांग्रेसले सहमति उल्लंघन गरेर धोका दिएको आरोप लगाए । एमाले नेताहरूले सातबुँदे सहमति कार्यान्वयन हुने अवस्थामा मात्रै सरकारमा सहभागी हुने अडान दोहोर्‍याएका थिए ।

प्रतिक्रिया