कांग्रेस नसच्चिए एमाले विपक्षमा

काठमाडौं २८, माघ । कांग्रेसले आफ्नो दलसँग भएको सहमति कार्यान्वयन नगरे एमालेले विपक्षमा बस्ने औपचारिक निर्णय गरेको छ । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले कांग्रेसले सुरुमै धोका दिएको निष्कर्षसमेत निकालेको छ ।
एमालेलाई उपप्रधानसहित गृहमन्त्रालय पनि दिने सहमति गरेको कांग्रेस आन्तरिक विवादका कारण अन्तिम समयमा पछि हटेको थियो ।
‘एमालेलाई गृहसहित उपप्रधान र अन्य केही महत्वपूर्ण मन्त्रालय दिने सहमति गरेको कांग्रेसले उक्त सहमतिबाट पछि हटेर सुरुमै एमालेलाई धोका दियो,’ सचिव विष्णु पौडेलले भने, ‘कांग्रेसले एकलौटी ढंगले सरकार चलाउन खोजेको देखियो, यस्तो अवस्थामा एमाले सहमति कार्यान्वयन नहुँदासम्म सरकारमा सहभागी हुँदैन ।’ प्रधानमन्त्री सुशील कोइरालको सपथग्रहण समारोहमा पार्टी प्रतिनिधिका रूपमा कोही पनि सहभागी नहुने निर्णय एमालेले गरेको थियो । पूर्वप्रधानमन्त्रीको हैसियतमा झलनाथ खनाल र माधव नेपाल भने सपथग्रहण समारोहमा सहभागी थिए ।
कांग्रेससँगको औपचारिक वार्तामा पनि उपप्रधानसहित गृह र केही महत्त्वपूर्ण मन्त्रालय आफ्नो दललाई दिने सहमति भएको एमालेको भनाइ छ ।
कांग्रेससँगको औपचारिक वार्तापछि एमालेको स्थायी समितिको बैठकले वामदेव गौतमलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने गरी सरकारमा पठाउने  निर्णय गरेको थियो । सरकार गठनका विषयमा दुई दलबीच सातबँुदे सहमति भएको थियो । सहमतिपछि मात्रै एमालेले प्रधानमन्त्रीमा कोइरालालाई समर्थन गरेको हो ।
सातबुँदे सहमतिमा अघिल्लो संविधानसभाले गरेका कामहरूको स्वामित्त्व ग्रहण गर्ने, संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपति अनुमोदन गर्ने, सरकार निर्माणका लागि कांग्रेसले सात दिनभित्र नीति तथा कार्यक्रमको खाका तयार गर्नेलगायत विषय छन् । सभामुखमा सुवास नेम्बाङ नै !
मंगलबारकै स्थायी समिति बैठकले पार्टीको तर्फबाट संविधानसभाको अध्यक्षमा सुवास नेम्बाङको नाम प्रस्ताव गर्ने निर्णय गरेको छ । पहिलो संविधानसभामा पनि नेम्बाङ नै अध्यक्ष थिए ।
किन तर्सियो कांग्रेस वामदेवसँग ?
कांग्रेस र एमालेबीच सातबुँदे सहमति भएलगत्तै एमालेले उपाध्यक्ष वामदेव गौतमको नेतृत्त्वमा सरकारमा सहभागी हुने निर्णय गरे पनि अन्तिम समयमा विवाद भएपछि सहमति कार्यान्वयन हुन सकेन । उपप्रधान र गृहमन्त्री वामदेवलाई दिने सहमति भएको भनिए पनि व्यापक विरोध भएको कारण देखाउँदै सहमतिबाट कांग्रेसपछि हटेपछि दुई दलबीच तिक्तता बढेको हो । वामदेव गौतमको नेतृत्वदायी क्षमता र विगतमा पनि गृहमन्त्रीका रूपमा कार्यभार सम्हालिसकेका कारण उनीसँग कांग्रेस तर्सेको हुनसक्ने बताइन्छ । विगतमा पनि स्थानीय निकायको निर्वाचनको बेला वामदेव गृहमन्त्री थिए । अहिले पनि स्थानीय निकायको निर्वाचन ६ महिनाभित्र गर्ने प्रतिबद्धता दलहरूको छ । त्यसै कारण पनि वामदेवलाई गृहमन्त्री दिन कांग्रेस तर्सेको हुनसक्ने बताइन्छ ।
आइतबार गृहमन्त्रालय एमालेलाई दिने गरी कांग्रेस नेतृत्त्वले एमालेसँग सातबँुदे सहमति गरेको थियो । तर, एमालेले गृहमन्त्रीमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेलगत्तै कांग्रेस नेतृत्त्व सहमतिको विरुद्धमा देखियो । यद्यपि कांग्रेसले आन्तरिक कारण र प्रधानमन्त्रीले आफ्नै दलको गृहमन्त्री राख्ने परम्पराका कारण एमालेलाई सो मन्त्रालय दिन नसकिने तर्क अघि सारेको छ । तर, भित्री रूपमा कांग्रेसी नेतृत्त्व  गौतमको क्षमतासँग तर्सेको बताइन्छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीको सपथ लिन जानुअघि मंगलबार कांग्रेस सभापति सुशील कोइरालाले एमाले अध्यक्ष झलनाथ खनालसँग गृह लिने भए गौतमबाहेक अर्काे नरम नेताको नाम सिफारिस गर्न आग्रह गरेका थिए ।
खनालसँगको टेलिफोन वार्तामा कोइरालाले एमालेलाई गृहमन्त्री दिन सकिने भए पनि गौतमलाई भने स्विकार्न नसकिने बताएका थिए । उनको यो अभिव्यक्तिले पनि कांग्रेस नेतृत्त्व गौतमसँग त्रसित भएको आभास हुन्छ । उनले अनैतिक र भ्रष्ट छवि भएका भन्दा स्वच्छ व्यक्तित्त्व भएकालाई पठाउन पनि अध्यक्ष खनालसँग आग्रह गरेका थिए ।
स्थायी समितिमा गौतमलाई नै पठाउने निर्णय भएका कारण परिवर्तन गर्न नसक्ने जवाफ अध्यक्ष खनालले कोइरालालाई दिएका थिए । स्रोतका अनुसार एमालेका नरम स्वभावका भनेर चिनिएका नेता विष्णु पौडेलको नाम सिफारिस गराउनका लागि एमालेभित्रैबाट यस्तो चलखेल भएको हुन सक्ने आशंका पनि गरिएको छ ।
यसअघि गृहमन्त्रीमा पौडेलको पनि नाम चर्चामा थियो । गृहमन्त्रालय नपाउने भएपछि एमालेले मंगलबारको प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रम पनि बहिष्कार गरेको थियो । गौतमलाई कुनै पनि हालतमा गृहमन्त्री नदिने अडानमा कांग्रेस छ । अन्य कोही सफ्ट नेतालाई भए गृहमन्त्री दिन सकिने संकेत कांग्रेसले गरेको छ ।
कांग्रेसलाई शान्तिसँग बस्न दिन्नँ : गौतम
यसैबीच मंगलबार आयोजित एक कार्यक्रममा नेता वामदेव गौतमले सहमति तोड्ने कांग्रेसलाई आगामी दिनमा शान्तिसँग बस्न नदिने चेतावनी दिएका छन् ।
सहमति कार्यान्वयन नगर्ने कांग्रेसलाई भविष्यमा देखाई दिने चुनौती नेता गौतमले दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गौतमले कांग्रेसले सहमति उल्लंघन गरेका कारण उसलाई भविष्यमा शान्तिसँग बस्न नदिने दाबी गरे । उनले कांग्रेसले २४ घन्टा नबित्दै सहमति उल्लंघन गरेको र यसको पछाडि देशीविदेशी हात रहेको तर्क पनि गरे ।
गौतमले भने, ‘लोकतन्त्रको मसिहा बनेको नेपाली कांग्रेस कस्ता–कस्ता किसिमका धोकाधडी र विश्वासघातका काम गर्छ, त्यसलाई हामी देशव्यापी रूपमा लैजान्छौँ । यति निर्लज्ज तरिकाले २४ घन्टा पनि बित्न नपाउँदै सम्झौता भएको कुरा दिन सक्दैनौँ भनियो ।’ कांग्रेसले लोकतन्त्रको आवरणमा प्रारम्भमै निरकुंशता प्रर्दशन गरेको दाबी पनि नेता गौतमले गरे ।

प्रतिक्रिया