प्रधानमन्त्रीबाट पदभार ग्रहण

काठमाडौं, २८ माघ । नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । सितल निवासमा मंगलबार आयोजित विशेष समारोहमा कोइरालाले मुलुकप्रति पूर्णबफादार भई काम गर्ने प्रतिज्ञा गर्दै ईश्वरको नाममा सपथ लिए ।
कोइरालाले सपथग्रहण गरेलगत्तै विनाविभागीय मन्त्रीका रूपमा डा. रामशरण महतलाई पनि पद तथा गोपनीयताको सपथ गराए । उक्त विशेष समारोहमा उपराष्ट्रपति परमानन्द झा, कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापा पनि उपस्थित थिए ।
सरकार निर्माण प्रक्रियामा भएको सहमतिबाट पछि हटेको भन्दै नेकपा एमालेले भने सपथग्रहण कार्यक्रम बहिष्कार गरेको छ । समारोहमा पूर्वप्रधानमन्त्रीको हैसियतमा झलनाथ खनाल र माधवकमुार नेपाल उपस्थित थिए । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्द पनि सपथग्रहण समारोहमा उपस्थित थिए ।
समारोहमा मन्त्रिपरिषद्का निवर्तमान अध्यक्ष खिलराज रेग्मी, पूर्वमन्त्री, सभासद्हरू, नेपाली कांग्रेसका उपसभापति, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीहरू, कूटनीतिक नियोगका प्रमुखहरू, सरकारी उच्च पदस्थ अधिकारीहरू, सेना तथा प्रहरीका प्रमुख तथा पदाधिकारीहरू, वरिष्ठ पत्रकार, विभिन्न राजनीतिक दलका प्रमुखलगायत पनि उपस्थिति थिए ।
समारोहमा पूर्वप्रधानमन्त्रीहरू, पूर्वअध्यक्ष तथा मन्त्रीहरू, विभिन्न पार्टीका अध्यक्ष, संवैधानिक अंगका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका पदाधिकारीहरूले नवनियुक्त प्रधानमन्त्रीलाई शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
सपथग्रहणपछि प्रधानमन्त्री कोइरालाले मंगलबार नै पदभार ग्रहणसमेत गरेका छन् । प्रधानमन्त्री कोइरालाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मंगलबार नै आफ्नो कार्यभार ग्रहण गरेका हुन् ।
सिंहदरबारमा कोइरालालाई मुख्य सचिव लीलामणि पौडेललगायत सरकारका उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।
पदबहालीपछि नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले शान्ति, स्थिरता, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकास नै वर्तमान सरकारको प्राथमिकता भएको बताए । सुशासन, पारदर्शिता कायम गरिने र भ्रष्टचार निवारण गरी जनतालाई केन्द्रमा राखेर काम गर्ने भन्दै कोइरालाले एक वर्षभित्रमै लोकतान्त्रिक संविधान आउनेमा आफू ढुक्क रहेको बताए । प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा ५ हजारभन्दा बढी भुक्रानी दिनुपर्दा तीन दिन वेबसाइटमा सार्वजनिक गरेपछि मात्रै दिनुपर्ने व्यवस्थासमेत गरेका छन् ।
२४ घन्टाभित्र डिन नियुक्त गर्न निर्देशन
प्रधानमन्त्री कोइरालाले २४ घन्टाभित्र चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय पदाधिकारीलाई निर्देशन दिएका छन् ।
त्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्री कोइराला नेतृत्त्वको मन्त्रिपरिषद्को मंगलबार नै बसेको बैठकले यस्तो निर्देशन दिएको हो । डिन नियुक्तीको विषयमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी चौँथोपटक अनशनमा छन् । उनको समर्थनमा चिकित्सकहरू आन्दोलनमा छन् ।
मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा दबाब खेप्न नसकी तत्कालीन डिन प्रकाश सायमीले राजीनामा दिएपछि बल्झिएको डिन विवाद अझैँ मिल्न सकेको छैन । सायमीको राजीनामा स्वीकृत गर्दै त्रिवि कार्यकारी परिषद्ले विवादित छविका डा. शशी शर्मालाई नियुक्त गरेपछि डा. केसी १४ दिन लामो अनशन बसेका थिए ।
डा. केसीको अनशन र चिकित्सक आन्दोलनका कारण त्रिविले डा. शर्मालाई बर्खास्त गरेको थियो । डा. केसीको १४ दिन लामो अनशन तोडाउन राजीनामा गरेका सायमीको पुनर्वहाली वा वरिष्ठताको आधारमा नयाँ डिन नियुक्तीको प्रतिबद्धता जनाएको थियो । आफ्ना माग पूरा नभएपछि डा. केसी पुन: गत शनिबारदेखि अनशन बसेका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनको विषयमा डा. केसी अनशन बसेको यो चौँथोपटक हो ।

प्रतिक्रिया