कांग्रेसले एमालेलाई गृह नदिने

काठमाडौ, २७ माघ । ७ बुँदे सहमति गरेर प्रधानमन्त्रीमा निर्वाचित भएका कांग्रेस सभापति सुशील कोइरालाले आन्तरिक विवादका कारण गृहमन्त्रालय एमालेलाई दिन नसकिने बताएपछि सत्ता साझेदार दुवै दलबीच तनाव देखिएको छ । कोइरालाले पार्टीभित्रको चर्काे दवाबले गृहमन्त्रालय दिन नसकिने जिकिर गर्न थालेपछि दुई दलबीच भएको सहमति कार्यान्वयन हुनुभन्दा पहिले नै उल्लंघन भएको छ । जसका कारण दुई दलबीच विश्वासको संकटसमेत पैदा भएको छ ।
यसअघि आइतवार मात्रै एमालेसँग मन्त्रालय बाँडफाँडमा मोटामोटी सहमति भइसकेको भनेर दुवै दलका नेताहरूले दाबी गरेका थिए । दुई दलबीच आइतबार भएको बैठकमा गृह, सञ्चारलगायत मन्त्रालय एमालेलाई दिने सहमति भएको बताइएको थियो । तर, सोमबार बिहान एमाले अध्यक्ष झलनाथ खनाललाई फोन सम्पर्क गरेर कोइरालाले गृह दिन नसक्ने जानकारी गराएका थिए । प्रधानमन्त्रीका लागि मतदान सुरु हुनुभन्दा अगाडि नै एमाले अध्यक्ष खनाल र कोइरालाबीच कुराकानी भएको थियो । तर पनि एमालेले कांग्रेसको पक्षमा मतदान गरेको थियो ।
‘हामीले प्रधानमन्त्रीको निर्वाचन हुनुभन्दा पहिले नै एमाले नेतृत्वलाई गृहमन्त्रालय दिन नसकिने जानकारी गरएका थियौँ,’ कांग्रेस नेता मिलेन्द्र रिजालले भने, ‘तर एमालेले पनि गृह छोड्न नसकिने जवाफ कोइरालालाई फर्काएको थियो ।’
कोइरालाले गृहमन्त्री दिन नसक्ने बताएपछि एमाले अध्यक्ष खनालले आइबारको सहमतिअनुसार अघि बढ्न कोइरालालाई सुझाएका थिए ।
सहमतिअनुसार नै कांग्रेस अघि बढ्ने विश्वासका साथ प्रधानमन्त्रीमा कोइरालालाई मतदान गरेको एमालेका एक नेताले बताए । राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्नुपर्ने विषयलाई आफ्नो बटमलाइन मान्दै आएको एमालेले गृह, सञ्चार, सामान्य प्रशासन, शिक्षा, स्थानीय विकास, वनलगायत मन्त्रालय पाउने भएपछि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न पुगेको हो । दुई दलबीच आइतवार ७ बुँदे सहमतिसमेत भएको थियो ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेललगायत नेताले गृहमन्त्रालय एमालेलाई दिन नसकिने बताएपछि कोइराला थप दवाबमा परेका हुन् । व्यवस्थपिका संसदको बैठक सकिनेबित्तिकै पौडेलले एमालेसँगको वार्तामा खटिएका नेता डा. रामशरण महत र दीपकुमार उपाध्यायलाई गृह दिने सहमति किन गरेको भनेर हप्काएका थिए ।
मन्त्रालय बाँडफाँडमा विवाद देखिएपछि कोइरालाको सपथ पनि अनिश्चित बनेको छ । कोइराला र एमालेबाट उपप्रधान र गृहमन्त्री बन्न तयार भएका वामदेव गौतमलाई सोमबारै सपथ गराउने कार्यक्रम रहेको थियो । ‘प्रधानमन्त्री, गृहमन्त्रीलगायत केही मन्त्रीको सपथ सोमबार नै गर्ने भनिएको थियो तर कांग्रेसले बखेडा झिकेपछि समस्या आएको हो,’ एमालेका एक नेताले बताए ।

गृह नपाए एमाले सरकारमा नजाने
मोहन बास्तोला
काठमाडौं २०, माघ । सुशील कोइरालालाई प्रधानमन्त्रीमा समर्थन गरेको एमालेले सहमती अनुरूप मन्त्रालय बाँडफाँट नभए सरकारमा सहभागी नहुने चेतावनी दिएको छ । नेपाली काङ्ग्रेसले एमालेलाई गृह मन्त्रालय दिन नसक्ने बताएपछि एमालेले यस्तो चेतावनी दिएको हो । गृह एमालेलाई दिन नसक्ने कोइरालाको भनाई पछि सरकार गठन अगावै दुई दल विच द्धन्द उत्पन्न भएको छ । एमालेलाई उप–प्रधानमन्त्री र गृह सहित अन्य केही महत्वपूर्ण मन्त्रालय दिने सहमति गरेको काङ्ग्रेसले सोमवार एकाएक त्यस्तो गर्न नसकिने बताएको थियो ।
‘काङ्ग्रेससँगको औपचारिक वार्तामा पनि एमालेलाई गृह, उपप्रधानसहित महत्वपूर्ण मन्त्रालय दिने सहमति भएको थियो,’ एमाले सचिव विष्णु पौडेलले भने, ‘काङ्ग्रेससँगको औपचारिक वार्तापछि एमालेको स्थायी कमिटिले वामदेव गौतमलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने गरी सरकारको नेतृत्वमा पठाउने निर्णय गरेको हो, यसमा केही दायाँबायाँ हुँनु हुंदैन ।’ उनले कांग्रेस र एमालेबीचमा भएको सात बुंदे सहमतिमा दायाँ–बाँया भए एमाले सरकारमा नजाने चेतावनी समेत दिए । अघिल्लो संविधानसभाले गरेका कामहरूको स्वामित्व ग्रहण गर्ने, संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने, सरकार निर्माणका लागि कांग्रेसले सात दिनभित्र नीति तथा कार्यक्रमको खाका तयार गर्ने लगाएतका विषयमा दुई दल विच सहमति भएको छ ।’ स्रोतका अनुसार सरकारमा सहभागी भएमा एमालेको तर्फबाट भीम आचार्य, प्रकाश ज्वाला, रवीन्द्र अधिकारी, राधा ज्ञवाली, डम्वरसिंह सम्वाहाम्फे, दलबहादुर सुनुवार लगाएत मन्त्री बन्ने संभावना छ । सोमवार साँझ नै कोइराला निवास महाराजगञ्जमा मन्त्रालय बाँडफाँडबारे अवेरसम्म छलफल भएको छ ।

प्रतिक्रिया