काठमाडौं, २७ माघ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेबीच भएको सहमति असंवैधानिक भएको दाबी गरेका छन् । कांग्रेस सभापति कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले दुई पार्टीबीच भएको सहमति असंवैधानिक भएको जीकिर गरे ।
उनले कोइराला नेतृत्त्वको सरकारले राम्रो काम गरे समर्थन गर्ने र नराम्रो कामको विरोध गर्ने बताए । ‘म यसबारेमा अरु टिप्पणी गर्दिनँ, ढिलै भए पनि देशले प्रधानमन्त्री पाएको छ, हाम्रो पार्टीले गुण र दोषको आधारमा सहयोग र विरोध गर्छ ।’ अध्यक्ष दाहालले भने ।
एमाओवादी संसदीय दलका नेतासमेत रहेका दाहालले संविधान लेखनका लागि सबै दलसँग मिलेर अघि बढ्न एमाओवादी तयार रहेको बताए । उनले एक वर्षभित्र संविधान जारी गर्ने कोइरालाको प्रतिवद्धता सकरात्मक भएको बताए ।
जनतालाई नयाँ संविधान दिनुपर्छ,’ दाहालले भने, ‘नवनिर्वाचित प्रधानमन्त्री सुशीलजीले पनि एक वर्षभित्र संविधान बनाउने प्रतिबद्धता जनाउनु भएको छ, सबैले मद्दत पनि गरौँ, एक वर्षमा नयाँ संविधान बन्नेछ ।’
एमाओवादी नेता लिलामणी पोखरेलले संविधान निर्माणका क्रममा पार्टी सक्रिय भएर लाग्ने बताए । तर, कांग्रेस र एमाले दुई दलले एकलौटी रूपमा निर्णय गर्दै जाने हो भने संविधान नै बन्न नसक्ने चेतावनी उनले दिए । ‘दुई वटा पोलिटिकल पार्टीबीच सहमति हुनुहुन्न भन्ने होइन,’ नेता पोखरेलले सौर्यसँग भने, ‘तर संविधानसभाको सार्वभौमतामाथि हस्तक्षेप हुने गरी केही कुरा लादिन्छ भने संविधान बन्ने ग्यारेन्टी हुन्न ।’
प्रतिक्रिया