‘एकलौटी अघि बढे परिणाम घातक’

kp

काठमाडौं, २७ माघ । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सुशील कोइरालालाई एकलौटी रूपमा अघि नबढ्न चेतावनी दिएका छन् । संसदमा कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै ओलीले कोइरालालाई राम्रा काममा मात्रै आफ्नो दलले सहयोग गर्ने बताए । उनले कांग्रेसले खोलो तर्‍यो लौरो बिसिर्यो भन्ने उखानजस्तै गरी अगाडि बढ्न खोज्यो भने त्यसको परिणाम घातक हुने चेतावनीसमेत दिए ।
‘सरकार सञ्चालनदेखि एक वर्षसम्म संविधान निर्माण गर्ने विषयमा कोइरालाले सही निर्णय गर्नुहुनेछ, तर, खोलो तर्‍यो, लौरो बिर्सियो भयो भने दलीय व्यवस्था भएकाले सदन सजग हो भन्ने कुरा स्मरण गरे हुन्छ ।’ ओलीले चेतावनी दिँदै भने । उनले नयाँ सरकारले कार्यकर्ता पोस्नेभन्दा राहत दिने र पछाडि परेकालाई अघि ल्याउने काममा भूमिका खेल्नु पर्ने बताए ।
संसदीय दलका नेता ओलीले मन्त्रिमण्डल राम्रो बनाउन पनि कोइरालालाई आग्रह गरे । उनले अबको मन्त्रिमण्डल मान्छेले नाक खुम्च्याउने खालको हुन नहुने बताएका छन् । नेता ओलीले अहिलेको समर्थन दलीय हिसाबले नभई देशको हितलाई केन्द्रमा राखेर भएको दाबी गरे । ‘हामी देशको हितलाई केन्द्रमा राखेर चलिरहेका छौँ, संसदमा सम्बोधन गर्दै ओलीले भने, ‘तर, दलीय स्वार्थ देखियो भने गाउँ खाने कथामा भन्छन् नि, खै खै दाइ, म अगाडि जाउँ भनेर दलीय स्वार्थहरू अगाडि–अगाडि लागेको देखियो भने एमाले सरकारलाई खबरदारी पनि गर्छ ।’

प्रतिक्रिया