काठमाडौं, २५ माघ । पहिलो संविधानसभाबाट निर्वाचित राष्ट्रपति र उपराष्ट्रपति फेर्नु पर्ने पक्षमा दलहरू एकमत बन्न थालेका छन् । पहिलो संविधानसभाले निर्वाचित गरेको राष्ट्रपति दोस्रो संविधानसभामा कायम रहन नसक्ने तर्क गर्ने दलहरूको संख्या दिनदिनै बढ्दो छ ।
संविधानसभाको प्रमुख दल नेपाली कांग्रेसबाहेक दोस्रो दल एमाले, तेस्रो एमाओवादी र चाँैथो राप्रपा नेपाल राष्ट्रपति निर्वाचनको पक्षमा छन् । नेकपा एमालेका नेताहरूले संविधानसभामा औपचारिक रूपमा नै राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने बताएका छन् । एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाको निर्वाचनपछि प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, उपाध्यक्ष, फेरिने तर राष्ट्रपति, र उपराष्ट्रपति नफेरिने तर्क लोकतान्त्रिक नभई निरंकुश भएको धारणा राखेका थिए ।
उनले राष्ट्रपति र उपराष्ट्रपति फेर्ने औपचारिक प्रस्ताव गरेसँगै सो पक्षमा धेरै दल उभिन थालेका छन् । एमालेले आफ्नो बटमलाइन नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन बनाएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नभए सरकारमा समेत सहभागी नहुने एमाले संसदीय दलका नेता केपी ओलीले बताएका छन् । युवा संघ नेपालले शनिबार गरेको कार्यक्रममा नेता ओलीले भने, ‘एमाले लोकतान्त्रिक विधिबाट चल्ने पार्टी हो त्योभन्दा तल झर्न सक्दैन,’ उनले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यतामा सम्झौता गरी एमाले सरकारमा जाँदैन ।’
केही समयअघिसम्म राष्ट्रपति फेर्ने या नर्फेने बिषयमा मौन रहेको एमाओवादी पनि निर्वाचनको पक्षमा उभिएको छ । केन्द्रीय समितिमा राष्ट्रपति र उपराष्ट्रपति फेर्नु पर्ने दबाबपछि नेतृत्व तह उक्त कित्तामा उभिएको हो ।
पुरानो संविधानसभा विघटन भई नयाँ संविधानसभा गठन भइसक्दा पनि राष्ट्रपति र उपराष्ट्रपति पुरानै राख्नु पर्छ भन्ने तर्क अलोकतान्त्रिक भएको ठहर एमाओवादी नेता टोपबहादुर रायमाझीको छ । उनले भने, ‘कुरा लोकतात्रिक विधिको गर्ने तर पुरानै राष्ट्रपति र उपराष्ट्रपति कायम हुनुपर्छ भन्ने शैली गलत हो ।’ राप्रपा नेपालले दोस्रो संविधानसभाको निर्वाचन सकिएदेखि नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने भन्दै आएको छ । कांग्रेसका केही नेतासमेत पनि राष्ट्रपति फेर्नुपर्ने पक्षमा देखिएका छन् । वरिष्ठ नेता देउवालगायत सभापति सुशील कोइराला पक्षधर केही नेताहरूले पनि राष्ट्रपति फेर्नुपर्ने धारणा राख्न थालेका छन् ।
राष्ट्रपतिको विषयमा छलफल गर्न कांग्रेस तयार
काठमाडौं । एमालेले कुनै पनि हालतमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनु पर्ने अडान राखिरहेको बेला नेपाली कांग्रेसका एक नेताले आफ्नो दल पनि सो विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । एमाले र एमाओवादी यसअघि नै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने पक्षमा छन् ।
कांग्रेस नेता डा. रामशरण महतले आफ्नो दल राष्ट्रपति कहिल्यै फेर्नु हुँदैन भन्ने पक्षमा नरहेको धारणा राखे । युवा संघ नेपालले राजधानीमा शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता महतले राष्ट्रपति निर्वाचनको विषयमा आफ्नो दल व्यापक छलफल गर्न तयार रहेको बताए ।
कांग्रेस नेता महतले आफ्नो दल ‘रोबर्ट’ जस्तो अडानमा नरहेको भन्दै अहिलेको प्राथमिकता सरकार र संविधान निर्माण भएको धारणा राखे । ‘हामीले राष्ट्रपति कहिल्यै नफेर्ने भनेका छैनौँ,’ उनले भने, ‘राष्ट्रपति लोकप्रिय भएकाले पनि नफेर्ने भनेको होइन, कांग्रेस राष्ट्रपतिको निर्वाचनका विषयमा व्यापक छलफल गर्न तयार छ । उनले सबै दलबीच सहमति हुने हो भने एक वर्षभित्रमा संविधान जारी हुन कुनै मुस्किल नहुने ठोकुवा गरे ।
कार्यक्रममा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले जुनसुकै हालतमा पनि राष्ट्रपतिको निर्वाचन हुनुपर्ने अडानमा आफ्नो दल रहेको बताए । गत शुक्रवार संसद्मा बोलेको भनाइ नै एमालेको बटमलाइन भएको उनले जीकिर गरे । ओलीले संसद्मा विशेष समय लिएर बोल्दै राष्ट्र्रपतिको निर्वाचन एमालेको बटमलाइन भएको बताएका थिए ।
ओलीले भने, ‘तर, के का लागि सरकार बनाउने भन्ने कुरालाई पर राखेर आएको प्रस्ताव एमालेलाई मञ्जुर छैन,’ उनले भने, ‘कांग्रेसको प्रस्ताव र सहमतिमा एमाले सरकार बनाउंन तयार छ ।’ उनले आफ्नो दल कांग्रेसको नेतृत्वमा सरकार गठन होस् भन्ने पक्षमा रहेको पनि बताए । ‘हामी मिल्ने मिलाउने प्रयासमा छौँ,’ उनले भने, ‘छिट्टै कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ ।’
प्रतिक्रिया