काठमाडौं, २४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नियुक्त भएको नौ महिनामा लोकमानसिंह कार्कीले एक सयभन्दा बढी राष्ट्रसेवक कर्मचारीलाई अदालत पुर्याएका छन् । सार्वजनिक पदको दुरुपयोग गर्ने अध्यागमन, नेपाल विद्युत् प्राधिकरणमा कार्यरत अधिकाँस कर्मचारीहरू अहिले अदालत धाइरहेका छन् तथापि उनी प्रमुख आयुक्त भएको शुक्रबार ठीक नौ महिना पुग्दा पनि उनले राजनीतिक भ्रष्टाचारीको विरुद्धमा भने कुनै कदम उठाएका छैनन् ।
भ्रष्टाचारविरुद्ध लागेका राष्ट्रिय अन्तर्राष्ट्रिय संघ/संस्थाले नेपालमा राजनीतिक क्षेत्रबाट ठूलो भ्रष्टाचार हुने गरेको प्रतिवेदन बर्षेनि सार्वजनिक गर्दै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक क्षेत्रबाट भएका भ्रष्टाचारका सैयौँ उजुरी पनि वर्षांैदेखि थुप्रिएका छन् । तर पनि अख्तियारले राजनीतिक क्षेत्रका भ्रष्टाचारलाई कानुनी कारवाहीको दायरामा ल्याउन सकेको छैन । ‘माओवादी लडाकुका नाममा भएको भ्रष्टाचार होस् या ठूला दलका ठूला नेताविरुद्ध परेका उजुरी हुन् त्यसमा छानबिन गर्न अख्तियार डराएको छ,’ नेपाल बारका उपाध्यक्ष टिकाराम भट्टराईले भने, ‘कर्मचारी मात्र भ्रष्टाचारी देखाएर राजनीतिक भ्रष्टाचारीलाई उन्मुक्ति अख्तियारले दिइरहेको छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख दलका शीषस्र्थ नेताविरुद्धमा उजुरी परेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम, भीम रावल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, वर्षमान पुन र कृष्णबहादुर महराविरुद्ध अख्तियारमा उजुरी परेको छ । यसैगरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार र नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोविरुद्ध उजुरी परेको छ ।
ठूला नेताविरुद्ध परेका उजुरीमा छानबिन गर्दा अख्तियारको प्रमुख आयुक्त पद नै धरापमा पर्ने भएपछि छानबिन नथालिएको हुनसक्ने उपाध्यक्ष भट्टराईले बताए । विभिन्न राजनीतिक पार्टीका नेताहरू सार्वजनिक पदमा रहँदा अकूत सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै उजुरी दायर भएका छन् ।
अख्तियारमा एक वर्षअघि युवा संघ नेपालले माओवादी लडाकुका नाममा भएको भ्रष्टाचार छानबिन गर्न माग गर्दै उजुरी दायर गरेका थिए । तर, उजुरी उपर अहिलेसम्म कुनै छानबिन अख्तियार नगरेको युवासंघले आरोप लगाएको छ । युवासंघले एमाओवादी अध्यक्ष दाहाल, नेता डा. भट्टराई र महरालाई किटानी उजुरी दायर गरेको थियो ।
अख्तियारले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गर्न खोज्ने राष्ट्रसेवक कर्मचारीलाई धमाधम रंगेहात पक्राउ र अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाएपछि कर्मचारीतन्त्रमा हुने भ्रष्टाचारमा कमी आएको छ । कर्मचारीभन्दा ठूलो रकमको भ्रष्टाचार राजनीतिक क्षेत्रबाट हुने गरेको ठहर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाले गरेका छन् ।
उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने आयोगमा परेका उजुरी उपर छानबिन भइरहेको जनाएको छ । राजनीतिक भ्रष्टाचारका विषयमा परेका उजुरीमाथि छानबिन भइरहेको र निकट भविष्यमा केही ठोस् परिणाम आउने दाबी अख्तियारले गरेको छ ।
प्रतिक्रिया