काठमाडौं, माघ २० । एमाओवादीले आफ्नो कार्यदिशा सच्चाएमा पार्टी एकता गर्न तयार रहेको नेकपा– माओवादीले बताएको छ । हेटौंडा महाधिवेशनले लिएको कार्यदिशा सच्चाएर पार्टीभित्रका विकृती हल गर्न एमाओवादी तयार भए पार्टी एकता सम्भव भएको निष्कर्ष वैद्य माओवादीको छ । कार्यदिशा नसच्चाए त्यो सम्भव नभएको पनि वैद्य नेतृत्वको ठम्याइ छ ।
केही दिनअघि मात्रै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रममा एकताका लागि प्रस्ताव गरेसँगै वैद्य नेतृत्वको माओवादीले एकीकरणको विषयलाई पोलिटब्युरो बैठकको एजेन्डा बनाएको थियो ।
‘एमाओवादीसँग एकता गर्न हाम्रो पार्टी तयार छ,’ पोलिटब्यूरो बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले भने, ‘एकताका लागि हेटौंडा महाधिवेशनले लिएको गलत कार्यदिशाका साथै पार्टीभित्रका विकृति र विसंगति सच्चाउन जरुरी छ, त्यसो होइन भने एकता गर्न त के, त्यसबारे सोच्नसमेत सकिन्नँ ।’
एमाओवादीसँग कार्यगत र पार्टीगत एकताको लागि संवाद र छलफलको ढोका खुला राखिने भन्दै अध्यक्ष वैद्यले तत्कालै भने पार्टी एकता सम्भव नभएको बताए ।
नेकपा–माओवादीले संविधानसभाबाट संविधान बन्न नसक्ने भन्दै बाहिरबाटै सहमति खोज्न आग्रहसमेत गरेको छ ।
दोस्रो संविधानसभाबाट संविधानसभाको एजेन्डा उठाउने महत्वपूर्ण शक्ति बाहिरिएको र संविधानसभामा पुरानै विचारधाराका शक्ति हाबी भएको भन्दै यो संविधानसभाबाट जनताले चाहेको संविधान बन्नै नसक्ने दाबी माओवादीको छ ।
अध्यक्ष वैद्यले देशको निकासको एक मात्र विकल्प सर्वपक्षीय सम्मेलन भएको पनि बताएका छन् ।
संसदमा पेस भएको संगठित अपराध, सुपुर्दगी, सम्पत्ति शुद्धीकरणसहितका अध्यादेशहरू राष्ट्रघाती र जनविरोधी भएको भन्दै विरोधका कार्यक्रम गर्ने निर्णयसमेत सोमबारको बैठकले गरेको छ । वैद्य माओवादीले १ फागुनलाई जनयुद्ध दिवस, १४ फागुनदेखि २१ सम्मलाई सहिद सप्ताह, ८ मार्चको महिला दिवस, ५ चैतको सांस्कृतिक प्रतिरोध दिवस र २४ चैतको जनआन्दोलन दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । भारतीय लगानीमा बन्न लागेको माथिल्लो कर्णाली, अरुण तेस्रोसहितका आयोजनाको समेत माओवादीले विरोध गरेको छ ।
प्रतिक्रिया