काठमाडौा १९, माघ । नेकपा एमालेमा पनि संसदीय दलको नेता छान्ने विषयमा विवाद देखिएको छ । अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीले आ–आ–नै समूह बनाएर दलको नेता बन्न लबिङसमेत सुरु गरेका छन् । अध्यक्ष खनाल निकट भनेर चिनिएका उपाध्यक्ष वामदेव गौतमले आफ्नो स्वभावअनुसार एकाएक खेमा परिवर्तन गरी ओलीलाई समर्थन जनाउने प्रतिक्रिया दिएपछि थप विवाद देखिएको हो ।
संस्थापन पक्षको बुझाइअनुसार वामदेवले कित्ता परिवर्तन गरेपछि संसदीय दलमा सात जना सभासद् ओलीको पक्षमा थपिनेछन् भने केन्द्रीय कमिटीमा वामदेवसँगै दलबहादुर राना र किरण गुरुङ ओलीको पक्षमा लाग्नेछन् । गौतमले संसदीय दलको नेतामा ओलीलाई समर्थन गर्ने प्रतिवद्धता जनाएलगत्तै आइतबार दुवै पक्षले छुट्टा–छुट्टै भेला पनि आयोजना गरे । आइतबार अध्यक्ष खनाल पक्षले ललितपुरमा र ओली पक्षले तिनकुनेको सिद्धार्थ कटेजमा भेला गरेका छन् । आजको केन्द्रीय समितिको बैठकमा बहुमत पुर्याउने उद्देश्यले दुवै पक्षले भेला बोलाएका हुन् । संस्थापन पक्षले गरेको भेलामा ५० जना पूर्ण केन्द्रीय सदस्य सहभागी रहेको एक केन्द्रीय सदस्यले सौर्यलाई जानकारी दिए ।
संस्थापन निकट मानिने डा. विजय पौड्याल भने कार्य व्यस्तताका कारण भेलामा उपस्थित नभएको बताइएको छ । ललितपुरमा भएको संस्थापन पक्षको भेलाले पार्टी अध्यक्ष सर्वसम्मत संसदीय दलको नेता बन्ने परम्परालाई लत्त्याएर ओली–गौतम समूहले पार्टीभित्र विभाजन ल्याउन खोजेको निष्कर्ष निकालेको थियो । ‘अध्यक्षलाई बाइपास गरेर अन्य व्यक्ति दलको नेता बन्ने कुरा संसदीय मर्यादाविपरीत छ,’ संस्थापन पक्षका एक केन्द्रीय सदस्यले भने, ‘भेलाले सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा खनाललाई नै दलको नेता बनाउने तयारीसहित अघि बढ्ने निर्णय भएको छ ।’ ७८ जना पूर्ण केन्द्रीय सदस्य रहेको एमालेमा ५१ जनाको समर्थन अध्यक्ष खनाललाई भएको ती नेताको दाबी छ । अध्यक्ष खनालले आयोजना गरेको भेलामा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए । भेलामा उपस्थित अन्य नेताहरूमा सचिव युवराज ज्ञवाली, स्थायी समिति सदस्य भरतमोहन अधिकारी, युवा नेताहरू योगेश भट्टराई, घनश्याम भुसाललगायत थिए । ‘एमालेको इतिहासमा संसदीय दलमा चुनाव भएको र पार्टी प्रमुखबाहेक अन्य व्यक्ति दलको नेता भएको छैन,’ ती केन्द्रीय सदस्यले भने, ‘त्यसैले बैठकले पनि खनालबाहेक अन्य व्यक्ति दलको नेता बन्ने कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।’
ओली पक्षले सिद्धार्थ कटेजमा बोलाएको भेलामा उपाध्यक्ष गौतमसहित नेता किरण गुरुङ, रूपनारायण श्रेष्ठलगायत नेता उपस्थित थिए । ०४८ र ०५१ मा मनमोहन अधिकारी, ०५६ मा माधवकुमार नेपाल र ०६४ मा झलनाथ खनाल संसदीय दलको नेता
बनेका थिए ।
प्रतिक्रिया