बहुमतीय सरकार बनाउन दलहरू सहमत

काठमाडौं, १९ माघ । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठन गर्नका लागि दिएको समय आइतबार सकिएको छ । सो अवधिमा सहमतीय सरकार गठन गर्ने प्रयासमा दलहरू असफल भएपछि बहुमतीय सरकार गठनको तयारीमा दलहरू जुटेका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलले अब बहुमतीय आधारमा सरकार गठनका लागि प्रक्रिया सुरु गर्ने सहमति गरेका छन् ।

आइतबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकले सहमतिका लागि समय नथप्ने निर्णय गरेको हो । सहमतीय सरकार गठनका लागि तोकिएको समयभित्र सहमतीय सरकार गठन गर्न दलहरू असफल भएका हुन् । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि एक साताको समय दिएका थिए । उक्त समयमा सहमति जुटाउने प्रयास स्वरूप आइतबार कांग्रेसले सर्वदलीय बैठक बोलाए पनि कुनै सहमति बन्न सकेन । उक्त बैठकमा तेस्रो ठूलो दल एमाओवादी उपस्थित नै भएन । एमाओवादी र चौँथो दल राप्रपा नेपालको प्रतिपक्षमा बस्ने अडानका कारण पनि सहमतीय सरकार बन्न नसकेको हो ।
दलहरूले सहमतीय सरकारका लागि समय माग गरेमा थप गरिने नत्र भने बहुमतीय प्रक्रियाका लागि राष्ट्रपतिले आह्वान गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले सौर्यलाई जानकारी दिए ।
अन्तिम सयमसम्म पनि सहमतीय सरकार बन्ने कुनै छाँट नदेखिएपछि कांग्रेस सभापति सुशील कोइरालाले सोमबार सहमतिको सरकार सम्भव नरहेको भन्दै टेलिफोमार्फत सहमतिको सरकार गठनका लागि थप समय आवश्यक नपर्ने जानकारी राष्ट्रपतिलाई गराएको स्रोतको दाबी छ ।
सितल निवास स्रोतका अनुसार सोमबार राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ (२) अनुसार सरकार गठन गर्न सबैभन्दा ठूलो दललाई आह्वानसमेत गर्नेछन् ।
नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको व्यवस्थापिका बैठकमा एमाओवादीले सरकारमा सहभागी नहुने लिखित जानकारी गराएको कांग्रेस प्रवक्ता दिलेन्द्र बडूले जानकारी दिए । यसअघि राप्रपा नेपालले पनि प्रतिपक्षमा बस्ने लिखित जानकारी गराएको थियो ।
एमाओवादी अध्यक्ष दाहालले कांग्रेस ठूलो दल भएकाले उसको नेतृत्व स्वाभाविक भएको भन्दै एमालेसँग मिलेर सरकार बनाउनसमेत भनेका छन् । ‘कांग्रेस र एमाले मिल्दा बहुमत पुग्छ,’ दाहालले भने ‘मिलेर सरकार बनाउन्, हाम्रो शुभकामना ।’
राष्ट्रपतिले दिएको समयभित्र सरकार नबनेपछि कांग्रेस सभापति कोइरालाले अब बहुमतीय प्रक्रियाबाट नयाँ सरकार गठन हुने बताएका छन् । उपसभापति रामचन्द्र पौडेलले कोइरालालाई निर्विरोध प्रधानमन्त्री बनाउन अन्त्यसम्म पहल गर्ने बताएका छन् । दोस्रो ठूलो दल एमालेले सरकारमा सम्मानजनक हैसियत खोजेको छ । एमाले अध्यक्ष झलनाथ खनालले आइतबार मात्रै सम्मानजनक स्थान नपाए आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् । तर, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलले आइतबार एमालेलाई सम्मानजनक स्थान दिन आफ्नो दल तयार रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया