काठमाडौं, १७ माघ । नेपाली सेनाले बुलेट ट्रान्सफर मेसिन खरिद प्रक्रियाअगाडि बढाएको चिनियाँ कम्पनी नै नक्कली भएको खुलासा भएको छ । बुलेट ट्रान्सफर मेसिन खरिदका लागि ५ जुलाई २०१२ मा नै बोलपत्र आह्वान भए पनि हालसम्म मेसिन नेपालमा आइपुगेको छैन । कागजमा मात्र सीमित रहेको सो चिनियाँ कम्पनी पनि गोप्य रूपमा परिवर्तन गरी अमेरिकी कम्पनीमार्फत खरिद प्रक्रियाअगाडि बढाएपछि उक्त रहस्यको खुलासा भएको हो । बुलेट ट्रान्सफर खरिदका लागि अनुमति पाएको सो चिनियाँ कम्पनीले उक्त सामान नै उत्पादन नगर्ने गरेको समेत पाइएको छ ।
सो मेसिनको मूल्य ११ लाख ७६ हजार ४०२ अमेरिकी डलर पर्छ । उक्त मेसिन चिनियाँ कम्पनी सियामिन मेटल फोरमिङका स्थानीय एजेन्ट श्रीजोन कम्पनीका शम्भु भारतीले पाए पनि हालसम्म सो सामान नेपाल भित्रिन सकेको छैन ।
पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ र तत्कालीन सम्भारथी विभाग प्रमुख रहेका र पछि रथीबाट अवकाश पाएका नेत्र थापाको पालामा पहिलोपटक बोलपत्र आह्वान भएको थियो । कुनै पनि कम्पनी प्राविधिक रूपमा सक्षम नदेखिएपछि सेनाले पुन: बोलपत्र आह्वान गरेको थियो । दोस्रोपटकको बोलपत्रमार्फत चीनको म्यानुफ्याक्चरिङ कम्पनी सियामिन मेटल फोरमिङले मेसिन खरिदको जिम्मा पाएको थियो । नक्कली कागजपत्र तयार पारेर मेसिन खरिदको काम पाएको सो कम्पनीले एक वर्षसम्ममा पनि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको बताइएको छ ।
स्रोतका अनुसार उक्त चिनियाँ कम्पनीले हालसम्म बुलेट ट्रान्र्सफर मेसिन उत्पादन गरेको भेटिएको छैन । सो मेसिन म्यानुफ्याक्चरिङ कम्पनी सियामिन मेटल भए पनि कारोबार गर्नका लागि एलसी भने चिनियाँ कम्पनी उहान हुअजिनको नाममा खोलिएको पाइएको छ ।
चिनियाँ कम्पनीका लोकल एजेन्ट भारतीले उक्त मेसिन नेपाल भित्रयाउन नसकेपछि कम्पनी परिवर्तन गर्न गोप्य सहमति भएकोसमेत खुलासा भएको छ । एजेन्ट भारती र सेनाका केही उच्च अधिकारीको मिलेमतोमा बोलपत्र आह्वान नै नगरी अमेरिकन कम्पनीलाई जिम्मा दिइएको स्रोतले बताएको छ ।
स्रोतकाअनुसार भारतीले अमेरिकाबाट मेसिन झिकाउने भन्दै थप नक्कली कागजपत्रसमेत तयार पारेका छन् । एजेन्ट भारती नेपाल प्रहरीको चर्चित सुडान काण्डमा मुछिएका ठेकेदार पनि हुन् ।
सेनाका एक उच्च अधिकारीका अनुसार केही सैनिक अधिकारी र भारती मिलेर अमेरिकी कम्पनीबाट मेसिन ल्याउने तयारी भएको हो । तर, मेसिन खरिदको ठेक्का दिइएको अमेरिकी कम्पनीसमेत अस्तित्त्वमा नभएको पनि खुलासा भएको छ ।
उक्त अमेरिकी कम्पनीको लोकल एजेन्ट पनि भारती नै भएको पाइएको छ । नेपाल सरकारको आर्थिक नियमअनुसार कम्पनी परिवर्तन गर्दा कन्ट्री अफ ओरिजिन परिवर्तन गर्न नमिल्ने भए पनि बुलेट ट्रान्सफर मेसिन खरिद प्रक्रिया बोलपत्रविना नै अमेरिकन कम्पनीलाई दिइएको पाइएको छ । ‘भारतीले ठेक्का पार्न नक्कली डकुमेन्ट तयार पारेको देखियो, अब, फेरि चीनबाट सामान ल्याउन नसकेपछि उनले अमेरिकाबाट ल्याउँछु भनेर कम्पनी भिजिट गराउन सेनाको टोली भ्रमणमा लग्दैछन् ।’ सेनाका एक अधिकारीले भने ।
स्रोतका अनुसार मेसिन खरिदको जिम्मा पाएको ठेकेदारले डिफेन्स एक्सपर्ट लाइसेन्स नलिएको र कम्पनी पनि नक्कली भएपछि नेपालस्थित अमेरिकी दूतावासले समेत आन्तरिक छानबिन सुरु गरेको छ । अमेरिका जाने तयारीमा रहेको सो टोलीका सदस्यलाई दूतावासले भिसासमेत उपलब्ध नगराएको बुझिएको छ । ‘स्पेसिफिकेसन’का लागि सेनाको एक टोली अमेरिका जान लागेको भए पनि कम्पनीको विवरणसमेत सही नदेखिएपछि दूतावासले भिसा नदिएको बुझिएको छ । फ्याक्ट्रीमा नै गएर सामान चेकजाँच गर्न सेनाले दुई प्रमुख सेनानी र एक सेनानीलाई जिम्मा दिएको थियो । यसका लागि प्रमुख सेनानी विष्णु रावत र सेनानी दिवस कार्की अमेरिका जाने तयारीमा थिए ।
तर, सेनाले उक्त अमेरिकी कम्पनीको नाममा एलसी खोलिसकेको छ । ‘कम्पनीको अवस्था र सामानको चेकजाँच गर्न जान लागेको टोलीको भिसा रोकिएको छ, दूतावासले यसबारेमा आन्तरिक छानबिन गरिरहेको सुनेका छौँ ।’ सेनाका एक उच्च अधिकारीले सौर्यसग भने ।
प्रतिक्रिया