अनशन सयौँ दिनमा

काठमाडौं । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै अनसनमा बसेका अधिकारी दम्पत्तीको विरोध सयौँ दिनमा प्रवेश गरिसक्दासमेत त्यसको सुनुवाइ हुन सकेको छैन । अपराधीलाई कारवाही गरिनुपर्ने माग गर्दासमेत राज्यले बेवास्ता गरेको गुनासो ती दम्पत्तीको छ । यसअघि पनि उनीहरूले पटक–पटक अनशन बसिसकेका छन् । न्यायका लागि भन्दै अधिकारी दम्पत्तीले पछिल्लोपटक सुरु गरेको अनशन शनिबार एक सय दिन पुगेको छ । राजधानीको वीर अस्पतालको बेडमा उनीहरू अनसन बसिहरका छन् । अक्सिजन र स्लाइनले मात्र ती दम्पत्तीलाई जीवित राखेको चिकित्सकहरू बताउँछन् । दुवैको अवस्था जटिल हुँदै गएको अस्पतालका चिकित्सकहरू बताउँछन् ।
विभिन्न मानवअधिकारवादी संघ संगठनले अधिकारी दम्पत्तीको जीवन रक्षाको माग गर्दै शनिवार प्रधानमन्त्री निवास अगाडि धर्ना समेत दिएका छन् ।
गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारी आफ्ना कान्छा छोराको हत्यारालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने एकसूत्रीय माग राख्दै पटकपटक अनशन बस्दै आएका छन् । पछिल्लोपटक अधिकारी दम्पतीले ८ कात्तिक बाट अनशन सुरु गरेका हुन् ।
यसअघि पनि अधिकारी दम्पत्तीले अस्पतालको आकस्मिक कक्षमा अनशनमा बसेका थिए । सर्वाेच्च अदालतले अधिकारी दम्पत्तीको मागलाई सम्बोधन गर्न र जीवन रक्षा गर्न सरकारलाई आदेशसमेत दिएको थियो ।
सरकारले हत्यारालाई पक्राउ गर्ने लिखित प्रतिबद्धता जनाएपछि त्यतिबेला उनीहरूले ४८ दिनपछि अनशन तोडेका थिए ।
तर, सरकारले आफ्नो लिखित प्रतिबद्धतासमेत पूरा नगरेपछि पुन: अधिकारी दम्पत्ती अनसनमा बसेका हुन् । तर, उनीहरूको माग सम्बोधन गर्ने प्रतिबद्धतासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाास्कोटा र गृहसचिव जनार्दन नेपाल अनशन स्थलमा चारपटक पुगिसकेका छन् ।
उनले घटनाको छानबिन भइरहेको र सरकार संवेदनशील भएको दाबी पनि गरिरहेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले समेत अधिकारी दम्पत्तीको जीवन रक्षाका लागि पटक–पटक सरकारको ध्यानाकर्षणसमेत गराइसकेको छ ।

प्रतिक्रिया