काठमाडौ, १७ माघ । मस्तिष्क पक्घाका कारण मृत्युवरण गर्न पुगेका पूर्वप्रधानन्यायाधीश तथा ०४७ को संविधानको मस्यौदाकारसमेत रहेका विश्वनाथ उपाध्यायको शुक्रबार अन्त्येष्टि गरियो । उपाध्यायको शुक्रबार बिहान राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो । बिहीबार राति बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा उपाध्यायको निधन भएको हो । ५ दिनदेखि उपाध्यायको न्युरो अस्पतालमा उपचार भइरहेको थियो ।
परिवारसँग सामान्य अवस्थामा गफ गरिरहेका उपाध्याय ६ दिनअगाडि अकस्मात विरामी परेपछि उनलाई उपचारका लागि न्युरो अस्पताल पुर्याइएको थियो । उनको मस्तिष्कमा रगत जमेको थियो । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको नेतृत्वको टोलीले उपाध्यायको मतिष्कको शल्यक्रियासमेत गरेको थियो । शल्यक्रियाबाट पनि उनको होस् खुल्न नसकेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । भेन्टिलेटरमै उपचार भइरहेको बेला उपाध्यायको बिहीबार राति निधन भएको थियो ।
स्वर्गीय उपाध्याय मुटुका रोगी थिए । फोक्सोमा पनि खराबी भएपछि घाँटीबाट प्वाल पारेर खकारलगायत विकार निकाल्ने काम चिकित्सकहरूले गरिरहेका थिए । उपाध्यायको पार्थिव शरीरलाई शुक्रबार बिहान उनको छोराको निवास ज्ञानेश्वर लगिएको थियो । उपाध्यायलाई अन्तिम श्रद्धान्जली अपर्ण गर्न अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, ज्येष्ठ सभासद् तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाललगायत व्यक्तित्व आर्यघाट पुगेका थिए ।
उपाध्यायको पार्थिव शरीरमा उनका जेठा छोरा शैलेन्द्र उपाध्यायले दागबत्ती दिएका थिए । नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
अन्तिम श्रद्धान्जलीका लागि उनको पार्थिव शरीर सर्वाेच्च अदालत परिसरमा राख्ने भनिए पनि सार्वजनिक विदा परेकाले औपचारिक निर्णय सर्वाेच्चले गर्न सकेन । सर्वाेच्चले औपचारिक निर्णय लिन नसकेपछि उनको अन्त्येष्टि शुक्रबार गरिएको हो ।
नेपालको न्यायक्षेत्रमा विश्वनाथ उपाध्याय चर्चित र प्रभावशाली नाम थियो । ०११ सालमा सरकारी सेवामा प्रवेश गरेका उपाध्याय कानुन सचिव, सर्वोच्चका न्यायाधीश हुँदै प्रधानन्यायाधीश बने । फैसला लेख्न, संविधान व्याख्या गर्न र मानवअधिकारका क्षेत्रमा निडर फैसला गर्ने व्यक्तिका रूपमा उनी परिचित थिए ।
२२ मंसिर ०४८ मा प्रधानन्यायाधीश नियुक्त भएका उपाध्यायले करिब ४ वर्ष सो पदको गरिमा बढाए । सो अवधिमा उनले न्यायसम्बन्धी थुप्रै नजिर स्थापित गरेका थिए । मानवअधिकारका क्षेत्रमा उनले तय गरेका नजिर अहिले पनि सर्वाेच्च अदालतले अनुसरण गर्दै आएको छ । उनको कार्यकालमा टनकपुर सन्धिको मुद्दा, १२ भदौ ०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद बिघटन गरेपछि परेको मुद्दामा दिइएको फैसला निकै चर्चामा रहे । उनले तत्तकालिन प्रधानमन्त्री अधिकारीले बिघटन गरेको संसद पुनस्थापना हुने फैसला सुनाएका थिए । उपाध्याय ६ असोज २०५२ मा प्रधानन्यायाधीशबाट सेवा निबृत्त भएका थिए । लामो समय न्यायसेवामा बिताएका उपाध्याय सेवा निबृत्त भएपछि सार्वजनिक कार्यक्रममा देखा पर्न छोडेका थिए । कहिलेकाही मात्र सार्वजनिकरूपमा देखा पर्ने उपाध्याय ०६२/०६३ को आन्दोलनले २०४७ सालको संबिधान खारेज गरेपछि असन्तुष्ट रहदै आएका थिए । उपाध्यायका चार दाजुभाई मध्ये केदारनाथ उपाध्याय पुर्वप्रधानन्यायाधीश हुन । कान्छा भाइ बैद्यनाथ उपाध्याय हाल सर्वाेच्चका बहालवाला न्यायाधीश हुन ।
आइतवार न्यायलय विदा
पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधनमा शोक मनाउन आगामी आइतवार गते सबै तहका न्यायालय बन्द हुने भएको छ । कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको अध्यक्षतामा शुक्रवार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले आइतबार नेपालभरका सबै अदालत, विशेष अदालत र न्यायाधीकरणमा बिदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया