१९ माघभित्रै सहमतीय सरकार : कोइराला

sushil copyकाठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफू सहमतीय सरकारको प्रधानमन्त्री बन्ने बताएका छन् । सहमतीय सरकार गठनको वातावरण बन्दै गएको दावी सभापति कोइरालाको छ । उनले सबै दलले आफू नेतृत्वको सरकारलाई समर्थन गर्ने पनि बताए । महामन्त्री प्रकाशमान सिंहले चाक्सीबारीस्थित निवासमा विहिवार आयोजना गरेको चियापानमा सभापति कोइरालाले १९ माघभित्रै सहमतीय सरकार गठन हुने दाबी गरेका हुन् । ‘मेरो नेतृत्वमा सहमतिको सरकार गठन गर्न मैले पहल थालेको छु,’ चियापानमा सभापति कोइरालाले भने, ‘सबैलाई मिलाएर सहमतीय सरकार गठन गर्छु ।’
उनले सहमतीय हुन नसके बहुमतबाटै भए पनि नयाँ सरकार १९ माघभित्र गठन गर्ने पनि बताए । ‘सबै दलसँग भएको छलफलमा मलाई सहयोग गर्ने कुरा गर्नुभएको छ,’ उनले भने, ‘राष्ट्रपतिले दिएकै समयसीमाभित्र सहमतीय सरकार बन्ने सम्भावना छ । सबै पार्टीलाई सरकार गठनका लागि सहयोग गर्न पत्राचार गरेका छौँ । उहाँहरूको जवाफ आएपछि थप कुरा अघि वढ्छ,’ कोइरालाले भने, ‘सरकार गठनसँगै संविधान लेखनका लागि सबै दल मिलेर अघि बढ्नु पर्छ । त्यसका लागि सबै दलको सहयोग हुनेमा म विश्वस्त छु ।’ कोइरालाले राष्ट्रपतिले दिएको समयसीमा सकिन अझै तीन दिन बाँकी रहेकाले अन्तिम समयसम्म सहमतीय सरकारका लागि प्रयास गरिने बताए ।
कोइरालाले भने, ‘१९ गतेसम्म छलफल निरन्तर गर्छौँ । त्यस अवधिमा पनि सहमतीय सरकार गठन हुन सकेन भने बहुमतीय प्रक्रियामा जानु पर्छ । मुलुकलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन । छिटोभन्दा छिटो सरकार बनाएर संविधान निर्माणमा केन्द्रित हुनुपर्छ ।’ सभापति कोइरालाले २६ सभासद्को मनोनयसम्बन्धी कुनै खबर नआएको वताए । उनले भने, ‘वर्तमान सरकारले केही खबर गरेको छैन । अहिलेको सरकारले गरेन भने अब बन्ने नयाँ सरकारले गर्छ ।’
केही दिन अगाडि मात्रै भएको संसदीय दलको निर्वाचनमा कोइरालासँग पराजित वरिष्ठ नेता देउवा पनि कोइराला नजिकै थिए । कोइराला गत १२ माघमा संसदीय दलको नेता चयन भएका थिए । कोइरालाले आफ्नो प्रतिक्रिया दिएलगत्तै पत्रकारहरूले नेता देउवाको पनि प्रतिक्रिया लिन खोजेका थिए । तर, देउवाले कुनै प्रतिक्रिया दिन मानेनन् । उपसभापति रामचन्द्र पौडेल भने उपत्यका बाहिर भएका कारण कार्यक्रममा उपस्थित भएनन् । नवनिर्वाचित सभासद्को स्वागतका लागि आयोजना गरिएको चियापानमा अधिकांश संविधानसभा सदस्य, पार्टी पदाधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया