पछि हट्दै दाहाल

काठमाडौं, १५ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफैँले पेस गरेको दस्तावेजबाट पछि हटेका छन् । जारी केन्द्रीय समिति बैठकमा आफैँले पेस गरेको लिखित दस्तावेजबाट अध्यक्ष दाहाल एकाएक पछि हटेका हुन् ।

केन्द्रीय समिति सानो बनाउने प्रस्ताव गरेका अध्यक्ष दाहालले दुई साता पनि बित्न नपाउँदै त्यो सम्भव नै नभएको धारणा राखेका छन् । पार्टी सुदृढीकरणका लागि केन्द्रीय समिति सानो बनाउने प्रस्ताव अध्यक्ष दाहाल आफैँले दुई सातापहिले बैठकमा पेस गरेका थिए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान केन्द्रीय सदस्यहरू माझ आफ्नो धारणा राख्दै अध्यक्ष दाहालले केन्द्रीय कमिटी सानो बनाउने प्रस्ताव सम्भव नै नभएकाले यसबारेमा थप कुरा आवश्यक नभएको बताए । उनले आगामी बैशाखमा हुने संगठनात्मक महाधिवेशनसम्म कमिटी यथावत् राखेर कार्य विभाजनको तयारी गर्न ब्युरो इन्चार्जहरूलाई निर्देशनसमेत दिएका छन् । आधा घन्टाभन्दा बढी मन्तव्य दिएका अध्यक्ष दाहालले अहिले कमिटी सानो पार्ने कुरा सम्भव नभएको धारणा राखेको बैठकमा सहभागी एक नेताले सौर्यलाई जानकारी दिए ।
उक्त मौखिक प्रस्तावपछि उनी निकटका एक नेताले प्रश्न गर्न खोज्दा उनलाई रोक्दै दाहालले कमिटी सानो पार्ने कुरा सम्भव नै नभएको भन्दै यसबारे कुरै नगर्न भनेका थिए । दाहालको सो प्रस्तावपछि एमाओवादीमा खैलाबैला नै भएको छ । दाहालको सो उक्त प्रस्तावलाई लिएर पूर्वउपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षले मात्रै नभई उनी निकटकै नेताहरूले पनि विरोध जनाएका छन् । डा. भट्टराईनिकट एक केन्द्रीय नेताले अध्यक्षको बुधबारको भनाइले निराश बनाएको बताए । ‘बैठकमा औपचारिक रूपमा लिखित प्रस्ताव राखेको २ हप्ता पनि बितेको छैन,’ ती नेताले भने, ‘२ हप्ता आफ्नै प्रस्तावको पक्षमा अडिन नसक्नेबाट पार्टी पुन:निर्माणको आसा गर्न कसरी सकिएला ?’
अध्यक्ष दाहालले केन्द्रीय समिति बैठकमा पेस गरेको दस्तावेजमा केन्द्रीय कमिटी, जिल्ला कमिटी र स्थानीय कमिटीको आकार, समग्र कामको आवश्यकता, आलोचनासहित प्रभावकारी बैठक सञ्चालनका निमित्त चुस्त कमिटीको उद्देश्यमाथि ध्यान दिई निर्धारित गरिने भन्दै हालका लागि केन्द्रीय कमिटीको आकार ९९, जिल्ला कमिटीको आकार ५१ र स्थानीय कमिटीको आकार २५ भन्दा नबढ्ने गरी सम्बन्धित स्तरको सम्मेलनद्वारा निर्धारण गरिने प्रस्ताव गरेका गरेका थिए ।
तर, बुधबार अध्यक्ष दाहालले केन्द्रीय समितिलाई जस्ताको तस्तै राख्दै अन्य कमिटीको आकार घटाउने प्रस्ताव गरेका हुन् । जसअन्तर्गत राज्य कमिटीलाई जिल्ला आयोजक समिति बनाउने, जिल्ला सदस्यहरूलाई एरियामा झार्ने प्रस्ताव छ ।
केन्द्रीय समितिको बैठकपछि बुधबार दिउँसो नै बसेको ब्युरो तथा राज्य समिति इन्चार्जहरूको बैठकमा केन्द्रीय कमिटी जस्ताको तस्तै छाडेर अन्य कमिटी सानो बनाउन नमिल्ने भन्दै नेताहरू अध्यक्ष दाहालमाथि आक्रामक रूपमा प्रस्तुत भएका थिए । दाहालको प्रस्तावलाई लिएर तल्ला कमिटी सदस्यहरूमा समेत चर्को विरोध भएको छ । सो प्रस्तावलाई केही कार्यकर्ताले हाँस्यस्पदको संज्ञासमेत दिएका छन् ।
एमाओवादी भ्रातृ संगठन वाइसिएल उपत्यका संयोजक रामप्रसाद सापकोटाले पार्टी बढी बिग्रिनुमा केन्द्रीय समिति नै जिम्मेवार भएको भन्दै सबै कमिटी भंग गर्न माग गरे । सामाजिक सञ्जाल फेसबुकमार्फत पनि उनले पार्टी कसैको बिर्ता नभएको धारणासमेत राखेका छन् । ‘यो पार्टी तिमी बढे हाकिमहरूको बिर्ता होइन, जे मन लाग्छ गर्नलाई । तिमीहरूलाई काँडाले कोर्न पनि नहुने अरुका हातखुट्टा भाँचे पनि हुने ?’ उनले लेखेका छन्, र्‘हूती भए सबै कमिटीहरू विघटन गर, केन्द्रीय समितिका नामर्दहरू सबैले राजीनामा गर ।’ ‘हामी एमाले होइनौँ, वैद्य माओवादी पनि होइनौँ’
अध्यक्ष दाहालले केन्द्रीय समिति बैठकमा पार्टीको पहिचान तल्लो तहसम्म बुझाउन नसकेको स्वीकारेका छन् । बुधबार बिहान केन्द्रीय समिति बैठकमा दाहालले आफूहरू एमालेजस्तो पनि नभएको र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी जस्तो पनि नभएको जीकिर गरे । आफ्नो दल एमाले र ड्यास माओवादीभन्दा सैद्धान्तिक रूपमा फरक भएको भन्दै अध्यक्ष दाहालले आफ्नो आइडेन्टिटी तलसम्म पुर्‍याउन नसकेको उनको ठम्याई थियो । बैठकमा दाहालले आगामी बैशाखसम्ममा सांगठनिक अधिवेशन गर्ने प्रस्ताव पनि अघि सारेका छन् ।

प्रतिक्रिया