काठमाडौ, माघ १५ । अघिल्लो संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गर्ने प्रस्ताव केही दलको विरोधका कारण दर्ता हुन सकेन । नेपाली कांग्रेस, एमाले र एमाओवादीबीच मंगलवार भएको छलफलले बुधवारको बैठकमा स्वामित्व ग्रहणको प्रस्ताव बुधवारको संविधानसभा बैठकमा पेस गर्ने सहमति भएको थियो । राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले विरोध जनाएपछि सो प्रस्ताव पेस गर्न दलहरू असफल भएका छन् । प्रक्रिया नपुर्याई प्रस्ताव पेस गर्न खोजिएको भन्दै दुई दलले विरोध जनाएपछि दुई मिनेटमै संविधानसभा बैठक स्थगित भएको हो । बैठकको कार्यसूचीमा तीन दलीय कार्यदलले तयार पारेको प्रस्ताव पेस गर्ने उल्लेख थियो । सो प्रस्ताव तीन ठूला दलका नेताहरू सम्मिलित टोलीले तयार पारेको हो । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले उपाध्यक्ष वामेदव गौतम र एमाओवादी नेता नारायणकाजी श्रेष्ठ सम्मिलित कार्यदलले प्रस्ताव तयार पारेको हो । कार्यदलले एक वर्षभित्र संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी गर्ने र अघिल्लो संविधानसभामा भएको सहमति ग्रहण गर्ने दुईबुँदे प्रस्ताव तयार पारेको थियो । जनमोर्चाले सो प्रस्ताव तयारीविना ल्याइएको भन्दै विरोध जनाएको थियो । राप्रपा नेपालले यसअघि नै स्वामित्व ग्रहण अमान्य हुने बताउँदै आएको थियो । संविधानसभाको अर्को बैठक २२ माघमा बस्ने गरी स्थगित भएको थियो ।
संविधानसभाको बैठक १ घन्टा ढिलो सुरु
संविधानसभाको बुधवारको बैठक निर्धारित समयभन्दा एक घन्टा १३ मिनेट ढिलो सुरु भएको थियो । अपराह्न १ बजेका लागि निर्धारित उक्त बैठकको कार्यसूची पनि व्यवस्थापिका–संसद् सचिवालयले झन्डै ५० मिनेट ढिलो सभासद्लाई उपलब्ध गराएको थियो । बैठकमा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले कार्य व्यवस्था परामर्श समितिका सदस्यको नाम मनोनयन गरेको व्यहोरा जानकारी गराए । कार्यव्यवस्था समितिमा मनोनयन हुनेहरूमा चीनकाजी श्रेष्ठ, भीमप्रसाद आचार्य, कृष्णबहादुर महरा, वृजेशकुमार गुप्ता, सञ्जयकुमार साह, अमेन्द्र थाम्सुहाङ, दिलबहादुर नेपाली, जयदेव जोशी, प्रेम सुवाल, शिवलाल थापा, नरेन्द्र साह, चित्रबहादुर केसी, विसेन्द्र पासवान, रुक्मिणी चौधरी, पैमबहादुर सिंह, हरिचरण साह, सरिता यादव, राजकुमार राई, कुमार खड्का, लोकमणि ढकाल, मेघराज नेपालीलगायत छन् ।
खव्यवस्थापिक संसदमा चार अध्यादेश पेस
काठमाडौं : व्यवस्थापिका संसदको बुधबारको बैठकमा विभिन्न चारवटा अध्यादेश पेस भएका छन् । गृहमन्त्री माधवप्रसाद घिमिरेले पेस गरेका अध्यादेशहरूमा सुपुर्दगी अध्यादेश, ०६९, पूर्वपदाधिकारीहरूको सुविधा तथा सुरक्षासम्बन्धी अध्यादेश, ०६९, संगठित अपराध निवारण अध्यादेश, ०६९ र नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, ०६९ रहेका छन् । व्यवस्थापिका संसदको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ ।
प्रतिक्रिया