काठमाडौ, १५ माघ । हत्याको आरोप लागेका एमाओवादी सभासद् लालेन्द्र मण्डललाई एक साताभित्र उपस्थित हुन सर्वाेच्च अदालतले आदेश दिएको छ । आफैँ वा कानुन व्यवसायीमार्फत एक साताभित्र उपस्थित हुन मण्डललाई बुधबार सर्वाेच्चले आदेश दिएको सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
१६ भदौ ०६९ मा महोत्तरीका रामविलास मण्डलको हत्या गरेको अभियोग लागेका मण्डल प्रहरीको सूचीमा फरार छन् । सिंचाईसम्बन्धी सामान्य विवादमा लालेन्द्र, गणौरा मण्डल, रामपदारथ मण्डल र चन्द्रश्वर मण्डलसहितको संलग्नतामा रामविलासको हत्या गरेको भन्दै महोत्तरी जिल्ला अदालतले उनीहरूको नाममा वारेन्ट जारी गरेको थियो । १५ माघ ०६९ मा वारेन्ट जारी भएलगत्तै मण्डल फरार थिए । प्रहरीको सूचीमा फरार रहेका लालेन्द्रलाई एनेकपा माओवादीले सामानुपातिकतर्फ सभासद् बनाएपछि उनीविरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता गराइएको थियो ।
अधिवक्ता दिनेश त्रिपाठीले हत्या अभियोग लागेका व्यक्तिलाई सभासद् नबनाउन र पक्राउ गरी कानुनी कारवाहीको माग गर्दै ५ माघमा मुद्दा दर्ता गरेका थिए । रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले बुधबार अभियुक्त लालेन्द्रलाई उपस्थित हुन आदेश दिएको हो । न्यायाधीश वस्तीको इजलासले उनलाई पक्राउ गर्नु पर्ने हो या होइन उनको सभासद् पद कायम रहन सक्ने या नसक्ने विषयमा छलफल गर्न अर्काे साता उपस्थित हुन आदेश दिएको हो ।
रामविलासकी श्रीमती चुनरिया मण्डलले उनीहरूविरुद्ध किटानी जाहेरसमेत दिएकी थिइन् । मण्डलविरुद्ध प्रहरीले फरारी मुद्दा दायर गरेको थियो । अदालतले उनलाई उपस्थित हुन वारेन्ट जारी पनि गरेको थियो । तर, मण्डललाई राजनीतिक संरक्षण दिँदै एनेकपा माओवादीले सभासद् नै बनाएको छ । मण्डलले मोहत्तरी वाइसिएल इन्चार्ज भएरसमेत काम गरिसकेका छन् ।
प्रतिक्रिया