काठमाडौं । संसदीय दलको नेतामा नेता केपी शर्मा ओलीले पनि दाबी गरेपछि एमालेलाई दलको नेता सर्वसम्मत रूपमा छान्न कठिन भएको छ । संसदीय दलको नेता चयनलगाएत बारेमा छलफल गर्न मंगलबार बसेको स्थायी कमिटी बैठकमा ओलीले पनि दाबी गरेपछि कुनै निर्णय हुन सकेन ।
एमालेको इतिहासमा संसदीय दलमा चुनाव भएको र पार्टी प्रमुखबाहेक अर्को व्यक्ति दलको नेता भएको छैन । २०४८ र २०५१ मा मनमोहन अधिकारी, २०५६ मा माधवकुमार नेपाल र २०६४ मा झलनाथ खनाल संसदीय दलको नेता बनेका थिए ।
‘स्थायी कमिटीको मंगलबारको बैठकमा संसदीय दलका नेता चयनका विषयमा कुनै छलफल भएन’, सचिव विष्णु पौडेलले भने, ‘बुधबार बस्ने बैठकले यसबारे प्रक्रिया अघि बढाउँछ । शीर्ष नेताबीच शक्ति सन्तुलन मिलाउनकै लागि बोलाइएको स्थायी समितिको बैठक पटक–पटक स्थगित भएको थियो ।
मंगलबारको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने अडान दोहोर्याएको छ । बैठकले ४ मंसिरको चुनावबाट प्राप्त नयाँ जनादेश बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने निर्णय गरेको पनि सचिव विष्णु पौडेलले जानकारी दिए ।
सोमबार नेपाली कांग्रेससँग भएको छलफलमा एमालेले राष्ट्रपति, उपराष्ट्रपति लगायतको निर्वाचनका बारेमा लचिलो हुने संकेत गरेको थियो ।
बैठकले सरकार निर्माणका लागि कांग्रेसले पठाएको औपचारिक प्रस्तावलाई सकारात्म रूपमा लिएको छ । एमालेले यस अघि नै कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने अनौपचारिक निर्णय गरिसकेको छ । स्थायी कमिटीको बैठकले कांग्रेसको पत्रको जवाफ बुधबारपछि दिने पनि जनाएको छ । स्थायी कमिटीमा सरकार गठन र शक्ति बाँडफाँटको विषयमासमेत छलफल भएको थियो ।
प्रतिक्रिया