दाहाल नै संसदीय दलको नेता

Puspakamal-Dahalकाठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नै संसदीय दलको नेता बन्ने भएका छन् । अध्यक्ष दाहाल निवास लाजिम्पाटमा सोमबार बसेको पूर्वपोलिटब्युरो सदस्यहरूको बैठकले दलको नेता छान्ने जिम्मा हेडक्वार्टरलाई दिएको छ । हेडक्वार्टरलाई जिम्मा दिएपछि दाहाल संसदीय दलको नेता र डा. बाबुराम भट्टराई उपनेता हुने निश्चित छ ।
डा. भट्टराई पक्षधर पूर्वपोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले नेता छान्ने जिम्मा कार्यालयलाई नै दिएको सौर्यसँग बताए । अन्य नेतालाई छान्दा थप विवाद हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको अर्का एक पोलिटब्युरो सदस्यको भनाइ छ । एमाओवादी हेडक्वार्टरमा अध्यक्ष दाहाल, नेता डा. भट्टराई, अर्का नेता नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी छन् । संविधानसभामा पार्टीको भूमिकालाई सशक्त बनाउन शीर्ष नेतृत्व नै जानुपर्छ भनेर नेता छान्ने जिम्मा हेडक्वाटरलाई दिएको बैठकपछि पूर्वपोलिटब्युरो सदस्यहरूले जानकारी दिए ।
यसअघि एमाओवादीभित्र संसदीय दलको नेता छान्ने विषयमा विवाद थियो । अध्यक्ष दाहालले कृष्णबहादुर महरालाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । उता, डा. भट्टराई पक्षले नेता टोपबहादुर रायमाझीलाई अघि सारेका थिए । तर, अध्यक्ष पक्षधर नेताहरूले दाहाल नै संसदीय दलको नेता हुनुपर्ने अडान राखेका थिए । दोस्रो संविधानसभा निर्वाचनपछि तेस्रो दलमा खुम्चेको एमाओवादीमा दोस्रो पुस्तालाईअगाडि सार्नु पर्ने आवाजसमेत उठेको छ ।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय समितिको बैठकमा नेताहरूले उठाएको विषय र विशेष सांगठनिक अधिवेशनलगायत विषयमा छलफल भएको बताए ।
सोमबार बिहान पार्टी कार्यालयको बैठक बसेर पार्टी संगठनका विषयमा एजेन्डा तय गर्ने र दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने तयारी एमाओवादीले गरेको छ । पूर्वपोलिटब्युरो सदस्यहरूले भने आगामी बैशाखमा संगठनात्मक सम्मेलन गर्ने र त्यसपश्चात आवश्यक तयारी गरेर अर्को वर्ष विशेष महाधिवेशनमा जान सकिने सुझाव दिएका छन् ।

प्रतिक्रिया