काठमाडौ । सरकारले व्यवस्थापिका संसदमा सोमबार ५ वटा अध्यादेश पेस गरेको छ । गृहमन्त्री माधवप्रसाद घिमिरेले निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, संविधानसभा निर्वाचन अध्यादेश, संविधानसभा सदस्य निर्वाचनसम्बन्धि पहिलो संशोधन अध्यादेश र दोस्रो संशोधन अध्यादेश गरी ४ वटा अध्यादेश पेस गरेका हुन् ।
त्यस्तै अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी दोस्रो संशोधन अध्यादेश पेस गरेका हुन् । अन्तरिम मन्त्रिपरिषद्को सिफारिसमा संसद् नभएको अवस्थामा ती अध्यादेश राष्ट्रपति डा. रामवरण यादवले जारी गरेका थिए ।
अध्यादेश जारी भएको छ महिनाभित्र संसद्बाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोमबारको संसद बैठक १० मिनेट मात्र बसेको थियो । मंगलबारदेखि अध्यादेशमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । संसद्को अर्को बैठक आज बिहान ११ बजे बस्नेछ । बिहान ११ बजेका लागि बोलाइएको सोमबारको बैठक करिब आधा घन्टा ढिलो सुरु भई १० मिनेटमा सकिएको थियो । बैठकको अध्यक्षता ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले गरेका थिए ।
यसअघि आइतबार बसेको संसदको पहिलो बैठकमा केही औपचारिक प्रस्तावसहित ३० दलका शीर्ष नेता र स्वतन्त्र सभासद्ले आफ्नो धारणा राखेका थिए । आफ्नो धारणा राख्ने क्रममा अन्य दलहरूले अघिल्लो संविधानसभाले गरेको सहमतिलाई स्वामित्व ग्रहण गर्दै अघि बढ्नुपर्ने बताए पनि राप्रपा नेपालले भने विरोध जनाएको थियो । पहिलो बैठकमा प्रधानन्यायाधीश नेतृत्वको सरकार गठन र चुनावसम्बन्धी बाधा अड्काउ फुकाउ अध्यादेशलाई अनुमोदनका लागि प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया