गोर्खा सैनिकको जागिर गुम्ने

काठमाडौं,१० माघ । बेलायत सरकारले सैनिक कटौती अभियानलाई अन्तिम चरणमा पुर्‍याएपछि सैयौँ गोर्खाहरूले जागिर गुमाउने भएका छन् । बेलायत सरकारले १५ सयभन्दा बढी सैनिक कटौती गर्न लागेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । बेलायती रक्षा सचिव फिलिप ह्यामोन्डले बेलायती संसदलाई जानकारी दिँदै सैनिक कटौती प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका हुन् । ह्यामोन्डका अनुसार सरकारले हवाई र जल सेनाबाट सैनिक कटौती गर्न लागेको हो ।
बेलायतले सेनाको संख्या कटौती गर्ने तयारी गरेपछि त्यसको पहिलो निशानामा गोर्खा ब्रिगेडका नेपाली सैनिकहरू परेका छन् । कुल १५ सय बढी सैनिकमध्ये झन्डै साढे तीन सय गोर्खा सैनिकको दरबन्दी कटौती गर्न लागिएको बताइएको छ । हाल गोर्खा ब्रिगेडमा ३ हजार ५ सयको संख्यामा सैनिक कार्यरत रहेका छन् । गोर्खा ब्रिगेडमा बढी सैनिक कटौती गर्न लागेको भन्दै गोर्खा सैनिकहरूले असन्तुष्टि जनाएका छन् ।
बेलायतले यसअघि नै रक्षा बजेट घटाउनुका साथै सेनाको संख्यामा पनि कटौती गर्ने घोषणा गरेको थियो । सन् २०१० मा प्रधानमन्त्री डेभिड क्यामरुनको संयुक्त सरकारले सैनिक कटौती अभियान सुरु गरेको थियो । बेलायतले सेनाको थप आधुनिकीकरणमा जोड दिँदै सन् २०२० सम्म सेनाको संख्या ८२ हजारमा झार्ने सरकारको योजना छ । हाल बेलायती सैनिकको संख्या १ लाख २० हजार रहेको छ । नेपाली गोर्खा सैनिकले बेलायतको साम्राज्य विस्तारमा प्रथम विश्व युद्ध र द्वितिय विश्व युद्धदेखि नै सहयोग पुर्‍याउँदै आएको छ । बेलायतको पक्षमा भएको युद्धमा २ लाख नेपाली गोर्खा सैनिकले लडाइँ लडेका छन् भने करिब ४५ हजारले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया