सर्वसम्मत अध्यक्ष बन्ने वामदेवको दाबी

bamdevकाठमाडौं ९, माघ । उपाध्यक्ष वामदेव गौतमले नेकपा एमालेको नवौँ महाधिवेशनबाट आफू सर्वसम्मत अध्यक्ष बन्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले बिहीबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया क्रार्यक्रममा बोल्दै नेता गौतमले यस्तो दाबी गरेका हुन् । ‘उमेर, पार्टीमा गरेको योगदान र पार्टी सदस्यता लिएको हिसाबले पनि म अध्यक्षका लागि सबैभन्दा योग्य छु,’ गौतमले दाबी गरे । उनले भने, ‘वर्तमान अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र दोस्रा वरिष्ठ नेता केपी शर्मा ओलीले पनि अध्यक्षको दाबी गर्नु भएको छ ।’ उनले खनाल, नेपाल र ओली झापा विद्रोहवाट नेता भएको भन्दै आफू पुष्पलाल समूहबाट आएको इतिहास बताए । ‘झापा विद्रोहलाई आधार मान्ने हो भने उहाँहरू पार्टीमा वरिष्ठ जस्तो देखिनु हुन्छ,’ गौतमले भने, ‘यथार्थमा त्यस्तो होइन ।’
उनले वर्तमान अध्यक्ष खनालले पुन: अध्यक्षको दाबी गर्न नहुने कुरामा जोड दिए । नेपाल पनि यसअघि नै पार्टीको नेतृत्वमा रहेकाले उनले पनि अध्यक्षको दाबी गर्न नमिल्ने गौतमको तर्क थियो । ओलीलाई स्वास्थ्यले साथ नदिएको भन्दै गौतमले ओलीले आराम गर्नुपर्ने सुझाव दिए । ‘यसरी तीनै जनाले अध्यक्षको दाबी गर्ने अवस्था नभएकाले म नै सर्वसम्मत् अध्यक्ष हुँ,’ गौतमले भने, ‘योपटक मलाई पार्टीको नेतृत्व गर्ने अवसर दिनुहोस् म दुवै हात थाप्छु ।’ सर्बसम्मत अध्यक्ष बन्ने अवस्था नभए विधि र प्रक्रियाअनुसार अघि बढ्ने उनले दाबी गरे । उनले खनाल, नेपाल र ओलीले पार्टीमा ठूलो योगदान गरेको छौँ भनेर सरगरमाथाको गौरव गाथाका ठेली देखाएर अध्यक्ष बन्ने सम्भावना नभएको भन्दै योपटक आफूलाई पार्टीको नेतृत्व गर्ने अवसर दिए अर्कोपटक जति तल झर्नु परे पनि आफू तयार रहेको बताए । ‘आगामी महाधिवेशनलाई एकता र सर्वसम्मत नेतृत्व चयन गर्ने महाधिवेशन बनाउनसमेत मैले नै नेतृत्व गर्नु पर्छ,’ उनले भने, ‘मैले मौखिक रूपमा अध्यक्ष बन्छु भनेर यस अघि भनिसकेको छु, आगामी केन्द्रीय कमिटी बैठकमा आधिकारिक रूपमै राख्नेछु ।’
उनले आफूलाई कुनै समयमा विद्रोह गरेको आरोप लगाएर नेतृत्व नदिने कुरा पार्टीमा गर्न नमिल्ने पनि दाबी गरे । ‘म अलिक विद्रोही स्वाभावको छु,’ धेरै थिचोमिचो सहन सक्दिनँ, त्यही भएर मैले विगतमा विद्रोह गरेँ,’ उनले भने, ‘अब मेरो उमेरले पनि विद्रोह गर्न दिँदैन, त्यसैले त्यस्तो आरोप लगाउने सम्भावना पनि अब छैन ।’
कार्यक्रममा उनले चारै जना नेतालाई व्यवस्थापन गर्न सकिने सुझावसमेत दिए । ‘राष्ट्रपति, भावी प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्षका रूपमा चारै जान नेतालाई व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने । उनले आफूलाई संसदीय दलको नेता बनाएको अवस्थामा अध्यक्ष पदको दाबी नगर्ने संकेत समेत गरे । ‘अध्यक्ष नै बन्ने हुँदा संसदीय दलको नेतालाई प्राथमिकतामा राखेको छैन,’ गौतमले भने ।
मृत संविधानसभाका राष्ट्रपतिलाई नमानिने
सोही कार्यक्रममा गौतमले दोस्रो संविधनसभा पहिलो संविधानसभाको निरन्तरता नभएको भन्दै राष्ट्रपति उपराष्ट्रपति सबैको पुन: निर्वाचन हुनुपर्ने अडान दोहोर्‍याए । ‘यो संविधानसभा अधिकार सम्पन्न संविधानसभा हो,’ गौतमले भने, ‘त्यसैले मरिसकेको संविधानसभाका राष्ट्रपतिलाई राख्ने कुनै सम्भावना छैन ।’ उनले लोकतन्त्रको नारा दिने कांग्रेसले नै राष्ट्रपति नफेर्ने कुरा गरेर लोकतन्त्रको धज्जी उडाएको आरोपसमेत लगाए । ‘लोकतन्त्रको बान्की भनेको नै आवधिक निर्वाचन हो,’ उनले भने, ‘राष्ट्रपति संविधानसभाले संविधान जारी नगरूञ्जेलका लागि हो, संविधान नै जारी नगरी संविधानसभा विघटन भएपछि राष्ट्रपति चाहिँ कसरी रहन्छन् ?’ उनले राष्ट्रपति, उपराष्ट्रपतिलाई आजिवन भत्ता खाएर आरामसँग बस्न पनि सुझाव दिए । गौतमले राष्ट्रपतिको बखेडा नझिकी सरकार सञ्चालन र संविधान निर्माण प्रक्रियामा अघि बढ्न कांग्रेसलाई समेत सुझाव दिए । ‘लोकतान्त्रिक संविधान जारी गर्न अहिले एमाले र कांग्रेसबीच नै सहकार्य आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसका लागि कांग्रेसँग सहकार्य हुन्छ, स्थानीय निकायको निर्वाचनमा भने सो दलसँग प्रतिस्पर्धा हुन्छ ।’ उनले आगामी माघ अन्तिम वा फागुनको पहिलो हप्तासम्ममा जसरी पनि सरकार निर्माण हुने पनि
दाबी गरे ।

प्रतिक्रिया