तीन मधेसी दल एकीकरणको अन्तिम चरणमा

महन्थ ठाकुर संयोजक प्रस्तावित
काठमाडौं : मधेसका तीन प्रभावशाली राजनीतिक दलहरू एकीकरणको तयारीमा जुटेका छन् । संविधानसभाको निर्वाचनमा पार्टीको अवस्था खस्कँदो भएपछि महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), उपेन्द्र यादव अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम नेपाल र राजेन्द्र महतोको सद्भावनाले एकीकरणको प्रक्रिया अघि बढाएका हुन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुरलाई पहिलो संयोजक बनाउने र बाँकी दुई पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र महतो वरिष्ठ नेता बन्ने सहमति भएको समाचार स्रोतले बताएको छ ।
पहिलो अध्यक्ष मण्डलीय प्रणाली, तीन जना नै अध्यक्षमण्डलका समान सदस्य रहने र आलोपालो ४/४ महिना नेतृत्व गर्ने र पार्टीका कुनै पनि निर्णय सामूहिक सहमतिमा गर्ने सहमति भएको छ । यसैगरी, तीन जनामध्ये एक जनालाई अध्यक्ष मान्ने र बाँकी दुई जनाले कार्यकारी अध्यक्ष सम्हाल्ने तथा दुई कार्यकारी अध्यक्षमा एक जनाले संविधानसभा र संसदीय दलको नेतृत्व गर्ने सहमति भएको छ । अर्का एक अध्यक्षले संगठनात्मक मोर्चा सम्हाल्ने पनि सहमति भएको छ । तीन अध्यक्षमध्ये एक अध्यक्ष, एक वरिष्ठ नेता र एक सहअध्यक्ष हुने र पार्टीका हरेक निर्णय गर्दा तीन जनाको सहमतिमा गर्ने सहमति भएको जनाइएको छ । तीन अध्यक्षबीच समान हैसियत हुने गरी एकीकरण प्रक्रिया हुने जनाइएको छ ।
एकीकरण सम्भव भए यो दल संविधानसभामा चौँथो दल बन्नेछ । अहिले २४ सिट समानुपातिकमा हात पारेर राप्रपा नेपाल चौँथो शक्तिको रूपमा रहेको छ । एकीकरण सम्भव भए एकीकृत शक्तिको सिट संख्या २७ पुग्ने छ । दोस्रो संविधानसभाको निर्वाचनबाट तमलोपाले ११, फोरम नेपालले १० र सद्भावनाले ६ सिट पाएका थिए ।

प्रतिक्रिया