कृषि क्षेत्रमा लगानीको माग

panchathar

पाँचथर २४ मंसिर । जिल्लामा क्रियाशील सहकारी संस्थाका प्रतिनिधिले कृषि क्षेत्रमा लगानी गर्न माग गरेका छन् ।
शनिबार फिदिममा सम्पन्न जिल्ला सहकारी संघको १० औं वार्षिक साधारणसभामा सहकारी संघमा आबद्ध पदाधिकारीले नेपाल कृषि प्रधान देश भएकोले कृषि क्षेत्रलाई उपेक्षा गर्न नहुने बताए ।
साधरणसभामा बार्षिक प्रतिबेदन पेश गर्दै सहकारी संघका जिल्ला अध्यक्ष रेणु ओझाले कृषि क्षेत्रको बिकास गरी कृषि प्रधान देश नेपाललाई अग्रगतिमा लैजाने उदेश्य रहेको बताईन् । उनले कृषिलाई व्यावसायीकरण गर्न सहकारीको स्थापना गरिए पनि ठोस कार्यक्रम ल्याउन नसकेकोले विकास गर्न नसकेको बताईन्् । कृषि क्षेत्रको दुग्धजन्य उत्पादनमा सहकारी आन्दोलनले उल्लेख्य प्रगति गरेको उल्लेख गर्दै उनले कृषि उत्पादनमा हरेक क्षेत्रलाई समेट्ने गरी सहकारी आन्दोलन गरे मात्र मुलुकको गरिबी र बेरोजगारीलाई हटाउन सकिने विचार व्यक्त गरिन् ।
संघका लेखा सुपरिवेक्षण समितिका संयोजक दिलेन्द्र खनालले १९९५ मा अन्तराष्ट्रिय महासंघले पारित गरेको सात वटा सिद्धान्तमा आधारित भएर सहकारी सञ्चालन भइरहेको उल्लेख गर्दै ऐच्छिक तथा खुल्ला सदस्यता, सदस्यहरुको प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वयतत्तता र स्वतन्त्रता, शिक्षा तालिम र सुचना, समुदायप्रति चासो र सहकारी बीचको सहयोगका आधारमा कृषि क्षेत्रलाई प्राथमिकता दिएर सहकारी संघलाई अगाडि बढाउनु पर्ने सुझाव दिए । उनले सहकारीले आर्थिक बर्षमा ९६ हजार ७ सय ७३ रुपैंया प्राप्त आय मध्ये ९६ हजार ४ सय ४६ रुपैंया खर्च भएको जानकारी गराए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद आचार्यले कृषिका माध्यमबाट मात्र राष्टको्र बिकास सम्भव हुने भन्दै सहकारी मार्फत कृषकलाई फाइदा पुग्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । कृषि क्षेत्रमा देखिने प्राबिधिक समस्या सम्बन्धित निकायका प्राबिधिक बाहेक अरु कसैले समधान गर्न नसक्ने उल्लेख गर्दै उनले कृषि बिशेषज्ञलाई संगसंगै लिएर अगाडि बढ्न सुझाव दिए । उनले जिल्लाको बिभिन्न गाबिसमा सहकारीको माध्यमबाट कृषकलाईृ फाइदा पुग्ने कार्यक्रम सञ्चालन गर्न सहकारी संस्थाका पदाधीकारीलाई सुझाव समेत दिए । जिल्ला कृषि विकास कार्यालयका बालि संरक्षण अधिकृत सत्यनारायण शाहले नेपालमा सञ्चालित एनजिओ, आइएनजीओले कृषिसंग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले कृषकले लगाएको बालिमा रोग देखा पर्दा पनि जिल्ला कृषि बिकास कार्यालयमा परामर्शको लागि कृषक आउन नसकेको भन्दै सहकारीका माध्यमबाट कृषसंग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिए । उनंले भने, ‘कृषक हामीकहां परामर्श लिन आउंदैन्, सिधै व्यापारी व्यवसायीमा गएर समस्या राख्छन्, अनि कसरी समाधान हुन्छ ।’ लगाएको बालिमा समस्या देख्ने बित्तिकै कृषि बिकास कार्यालयमा सम्पर्क राख्न कृषकलाई उनले आग्रह पनि गरे ।
कृषि सहकारी संघका अध्यक्ष प्रेम ओझाले सरकारले कृषि क्षेत्रमा अहिले सम्म गरेको लगानीको बिश्लेषण गर्न आवश्यक रहेको बताए । उनले कृषि विकास कार्यालयले स्थानीय कृषकलाई सेवा दिन नसकेका भन्दै सहकारीका माध्यमबाट आयआर्जनमा सहयोग पुर्‍याउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । बचत तथा ऋण सहकारी संस्थाका मणिराज भण्डारीले प्रमिस योजना सञ्चालनको तयारी गरिरहेको जानकारी दिए ।
कार्यक्रममा साहित्यकार रामप्रकाश सम्थिङले मेची महाकाली यात्राको संस्करण नामक पुस्तक सावर्जनिक गरेका थिए । समुदायको आर्थिक, सामाजिक रुपान्तरणको लागि २०५० चैत्र ३१ गते स्थापना भएको जिल्ला सहकारी संघमा हाल १०५ सदस्य आवद्ध छन् ।

प्रतिक्रिया