काठमाडौं, २३ मंसिर । छोराको हत्यारालाई कारबाहीको माग गर्दै नन्दप्रसाद अधिकारी दम्पतीले दोस्रोपटक थालेको आमरण अनशन ४० दिन पुगेपछि चितवन प्रहरीले एक जना आरोपीलाई पक्राउ गरेको छ । शुक्रबार राति अबेर प्रहरीले पक्राउ गरेका व्यक्ति चितवन भरतपुर–९ निवासी एमाओवादी कार्यकर्ता अजीव पौडेल हुन् । उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ । अधिकारीका बुबा र आमा दोषीमाथि कारबाहीको माग गर्दै दोस्रोपटक अनशनमा बसेपछि प्रहरीले अर्का एक व्यक्तिलाई पक्राउ गरेको हो । गोर्खा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा यसअघि पक्राउ परेका गोरखाका रामप्रसाद अधिकारीलाई प्रमाण नपुगेको भन्दै प्रहरीले गत असोजमा रिहा गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले प्रमाण नपुगेको भन्दै हाजिरी जमानीमा छाड्न पत्राचार गरेपछि उनी रिहा भएका थिए । १४ असोजमा सामान्य तारेखमा उनी रिहा भएका हुन् । फुजेल–७ मा घरभएका कृष्णप्रसाद पूर्वीचितवनको जयमंगलामा रहेका हजुरबा–हजुरआमा भेट्न आउँदा तत्कालीन माओवादी कार्यकर्ताले अपहरण गरी २४ जेठ ०६१ मा बेलुकी ८ बजे रत्ननगर–१, बकुलहरमा गोली हानी हत्या गरेका थिए । अपहरणको ४ घन्टापछि उनको हत्या भएको थियो । किटानी जाहेरी परे पनि हालसम्म नसमातिएका व्यक्तिमा रामप्रसाद अधिकारी नै नाम गरेका गोरखाका एक जना पनि छन् । त्यस्तै, गोरखाका छविलाल पौडेल, मेघनाथ पौडेल, विष्ण्ुा तिवारी, सुभद्रा अधिकारी, सीता अधिकारी, कालिप्रसाद अधिकारी, हिमलाल अधिकारी र भीमसेन पौडेल छन् । हत्या अभियोगमा तत्कालीन माओवादी कार्यकर्ताविरुद्ध२५ जेठ ०६१ मा जिल्ला प्रहरी चितवनमा मृतकका दाजु नुरप्रसाद अधिकारीले किटानी जाहेरी दिएका थिए । रामप्रसादलाई छाड्दा चितवनमा एमाओवादीका जिल्लास्तरीय नेता–कार्यकर्ताले खुसियाली मनाएका थिए । त्यसपछि अधिकारी दम्पतीले फेरि आमरण अनशन थालेका हुन् । वीर अस्पतालमा रहेका उनीहरूको अवस्था चिन्ताजनक बन्दै गएको छ ।
प्रतिक्रिया