काठमाडौं, २३ मंसिर । संविधानसभाको पहिलो र दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकार निर्माणलगायत विषयमा दूरगामी महत्व राख्ने तीनबुँदे सहमति शनिबार गरेका छन् । कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालद्वारा हस्ताक्षरित सहमतिमा संविधान निर्माण गरी जारी गर्ने समयसम्म मिलेर अघि बढ्ने उल्लेख छ ।
बैठकमा कांग्रेस र एमालेका नेताहरूले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धमा चर्को तर ‘सालीन’ बहससमेत गरेका थिए । कांग्रेस नेताहरूले संविधान जारी नभएसम्म वर्तमान राष्ट्रपति, उपराष्ट्रपति कायम रहने संवैधानिक प्रावधानबारे एमाले नेतालाई स्मरण गराएका थिए भने एमाले नेताले अन्तरिम संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको सम्बन्धमा भएको व्यवस्थाबारे अन्तरिम संविधान वाचन गरेर सुनाएको स्रोतले बताएको छ ।
‘जनताको जनादेशबमोजिम दुई पार्टीले संविधान निर्माण, सरकार गठनलगायत विषयमा सहकार्य गर्ने सहमति गरेको छ,’ बैठकपछि एमाले अध्यक्ष खनालले भने, ‘यसनिम्ति भोलिदेखि नै एमाओवादीलगायत दलसँग संवाद गर्छौं ।’
बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले सौर्यसँग भने, ‘अब तत्काल संविधानसभाको बैठक आह्वान हुन्छ, बैठकले सबै विषयमा टुंगो लगाउँछ ।’ शनिबार सम्पन्न कांग्रेस–एमालेको पहिलो बैठक ऐतिहासिक भएको उनले बताए । ‘यस्तो सहमति दुई पार्टीबीच पहिलो संविधानसभाको बैठकपछि भएको थिएन,’ उनले भने, ‘कांग्रेसले राष्ट्रपति र उपराष्ट्रतिको विषयमा हलो अड्काउने काम गर्दैन ।’
राष्ट्रपति कुनै पनि हालतमा नफेर्ने कांग्रेसको अडान नरहेको कांग्रेसका नेताहरूले बैठकमा बताएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार कांग्रेसका नेता नारायण खड्काद्वारा राष्ट्रपतिका सम्बन्धमा व्यक्त विचार उनको निजी भएको बैठकमा कांग्रेस नेताहरूले बताएका थिए । बैठकमा एमाले नेताहरूले पनि राष्ट्रपतिको सम्बन्धमा विवाद झिकेर संविधान निर्माणमा बाँध पुर्याउने पक्षमा एमाले नरहेको बताएका थिए ।
बैठकमा कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत सहभागी थिए ।
बैठकमा चुनावमा पराजय भएपछि एमाओवादीले व्यक्त गर्दै आएको अभिव्यक्तिप्रति गम्भीर विमर्श भएको स्रोतले बताएको छ ।
बैठकपछि जारी पहिलो बुँदमा भनिएको छ, ‘०७० साल मंसिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचन आमरूपमा स्वतन्त्र, शान्तिपूर्ण र निष्पक्ष रूपले सम्पन्न भएकोमा सबै पक्षलाई हार्दिक धन्यवाद दिने निर्णय गरियो ।’ कांग्रेस सभापति कोइराला र एमाले अध्यक्ष खनालद्वारा हस्ताक्षरित ३ बुँदे सहमतिपत्रको दोस्रो बुँदामा भनिएको छ, ‘संविधानसभाको निर्वाचनमा प्राप्त परिणामलाई सम्मान गर्दै नेपाली कांग्रेस र नेकपा एमाले वर्तमान राजनीतिक अभिभारालाई पूरा गर्न आपसी समझदारीका साथ सहकार्य गर्दै अघि बढ्ने सहमति भयो ।’ सहमतिपत्रको तेस्रो बुँदामा भनिएको छ, ‘एमाओवादीलगायत सबै राजनीतिक दलसँग सहमतिका लागि वार्ता र संवाद तत्काल प्रारम्भ गर्ने निर्णय गरियो ।’ स्रोतका अनुसार आइतबार कांग्रेस र एमालेले छुट्टाछुट्टै एमाओवादीसँग छलफल गर्नेसमेत सहमति भएको छ ।
प्रतिक्रिया