धनगढी, २३ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा स्थायी संविधान र विकासका चुनौतिको सामना गर्दै अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् ।
संविधान बनाउन नसके देश ठूलो दुर्घटनामा जान सक्ने बताउँदै नेता देउवाले यसमा एमाओवादी र नेकपा–माओवादीलगायतका दलले सहमतिमा आई संविधान बनाउने काममा सहयोग गर्न आग्रह गरे ।
कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सव २०७० को शनिबार उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । एमाओवादीले प्राप्त जनमतको कदर गरी संविधानसभामा आफ्ना माग राख्न सक्ने भएकोले अब बन्ने संविधान सहमतिको दस्तावेजको रुपमा अघि बढाउनु उचित हुने उनको भनाइ थियो । उनले संविधानसभामा सबैको भावना र चाहनाको कदर गरी समावेशी र संघीय प्रदेश निर्माण गरिनेसमेत बताए ।
‘सुदूरपश्चिममा आर्थिक उपलब्धीको सम्भावना प्रवल रहेको छ । यसलाई समुचित ढंगले अगाडी बढाउनु आवश्यक रहेको छ,’ नेता देउवाले भने, ‘आउँदा दिनमा सुदूरपश्चिम अन्य क्षेत्र भन्दा पनि अगाडी जान सक्ने सम्भावना छ ।’
त्यसैगरी कार्यक्रममा एमाले नेता तथा पूर्व गृहमन्त्री भीम रावलले घोषित मिति भित्र जसरी पनि संविधान निर्माण गरी आर्थिक क्रान्तिमा लाग्नुपर्ने बताए । ‘४० प्रतिशत गरीबी रहेको सुदूरपश्चिममा केन्द्रीय राज्य सत्ताको उपेक्षाका कारण हालसम्म एउटा पनि गतिलो उद्योग नहुनु बिडम्बनाको कुरा हो, उनले भने यसका लागि बिद्यमान राज्यका सबै संयन्त्रमा संरचनागत ढंगले परिवर्तन गर्नु आवश्यक रहेको छ ।नेता रावलको सधै पछि पारिएको सुदूरपश्चिमलाई औद्योगिक क्षेत्र घोषणा गरेर राज्यले क्षतिपूर्ति स्वरुप १० वर्षसम्म कर छुट दिनुपर्ने धारणा थियो । उनले नेपालमा साझा पहिचान वा बहुपहिचान सहितको ७ प्रदेशको संघीयता बनाउन सबै दल सहमत हुनुपर्ने सुझाव दिए ।
त्यस्तै एमाओवादी पोलिट ब्यूरो सदस्य तथा पूर्व मन्त्री लेखराज भट्टले सहमतिका आधारमा संविधान र सरकार गठन गरिनुपर्ने बताए । उनले सहमतिका लागि ध्रुबीकरण हुनलागेको बताउँदै त्यसो नभए मुलुक फेरी दुर्घटनामा जाने चेतावनी दिए ।
कार्यक्रममा प्रमुख अतिथि नेता देउवालाई सुदूरपश्चिमका १८ माग सहित १८ किलोको माला लगाइएको थियो । भने विभिन्न क्षेत्रमा योगदान गरेका दर्जन बढीलाई सम्मान गरिएको थियो ।
२१ बुँदे माग सहित थालनी गरिएको यो महोत्सवको आठौं संस्करण हो । २१ मध्ये गेटा बिमानस्थल कालोपत्रे, मेडिकल कलेज, विश्वविद्यालय र अप्टिकल फाइवरको माग पूरा भई १७ वटा माग बाँकी रहेकोमा यसपटक औद्यागिक करिडोर क्षेत्रको माग थपिएर १८ बुँदे माग रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण कुँवरले जानकारी दिए । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवबाट संघले मात्र डेढ करोडको कारोबार गर्ने लक्ष्य रहेको छ भने सबैगरि १५ करोड बराबरको कारोबार हुने अध्यक्ष कुँवरको भनाइ छ ।
प्रतिक्रिया